चिरञ्जीवी सापकोटा, ठोरी, २८ मङ्सिर/
आसमान नेपालले ठोरी गाउँपालिकामा समतामूलक र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत सिकाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ठोरीभित्रका छवटा माविमा आसमान नेपालले सन् २०२४ देखि २०२८ सम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्षको अन्तिम समय आएको बताउँदै पहिलो वर्षमा आसमान नेपालले उक्त विद्यालयहरूमा गरिएका कार्यक्रमको प्रभाव र सकारात्मकताबारे छलफल गरेको आसमान नेपाल पर्साका एलजिइआई अधिकृत मनोजकुमार साहले जानकारी दिए ।
समीक्षा बैठकमा आगामी वर्षमा आसमान नेपालले विद्यालयमा खेल्नुपर्ने भूमिकाको सुझावपत्र बुझाइएको ज्ञानज्योति मावि घ्याङडाँडाका प्रधानाध्यापक सुनबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, वडाध्यक्ष अमृतकृष्ण सापकोटा, प्रअहरू सोमबहादुर दोङ, चिरञ्जीवी सापकोटालगायतले मन्तव्य राखेका थिए ।
आसमान नेपालले ठोरीका छवटा माविमा यस वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ भने मधेस प्रदेशका आठवटै जिल्लामा आसमानले शिक्षामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।