पूर्वप्रहर फाट्नु अघि नै बिहानी कार्यक्रम सक्यो । हिजोभन्दा धेरै बालुवा जम्मा गर्नुपर्छ, मनमनै सोच्यो । आफू मात्र पालिएर भएन, सन्तान र डिल्लीको सुखदुःखसमेत आफैंसँग छ । साहूको ऋण पनि घटाउनु छ । नजीकै दशैं र लगत्तै तिहार छ । काले गुरुङ अथवा ऊ वर्षको नौ महीना राम्दी खोलाको बगर कुर्छ । त्यो सदियौंदेखिको मसानघाट हो । वरिपरिका मानिसहरूको दाहसंस्कार त्यहीं हुन्छ । मृत जीवजन्तु त्यहीं फालिन्छन्– कुकुर, स्याल र गिद्धको लुँछाचुँडी हुन्छ, एकापसमा ठुङाठुङ र टोकाटोक चल्छ तर हरेक रातसँगै आफ्ना वैमनस्यता भुल्छन् र भोलिपल्ट पुनः त्यहीं जम्मा भई विगतका क्रियाप्रतिक्रया दोहो¥याउँछन् ।
त्यही बगरमा काले गुरुङ र उसका दर्जनौं सहकर्मी रात बिताउँछन् । बाँच्छन् र सपना देख्छन्, सुनिश्चित भविष्यको । घर खोलाको सिरानतिर पर्छ । वर्षको नौ महीना त बगरमैं बित्छ । असारदेखि भदौसम्म खोलामा बाढी आउने हुँदा कोही पनि बस्दैनन् र त्यस्तैमा पर्छ ऊ पनि ।
रोगी स्वास्नी र नाबालक छोराछोरी गाउँमैं बस्छन् । जाडो–गर्मी सबै बेला कालेहरू खोलाबाट बालुवा झिक्छन् र बेच्छन् । के बालुवा भन्नु, पसिना झिक्छन्, रगत झिक्छन्, आँसु झिक्छन् र विवशता निकाल्छन् । ज्वरो आउँछ, खोकी लाग्छ, आउँ पर्छ, खुट्टा फुल्छ, टाउको दुख्छ तर कालेहरू आफू कहिल्यै दुख्दैनन् । जीवन बेच्छन्, मन बेच्छन् अनि सुन्दर कल्पना र साहस बेच्छन् ।
कालेहरू जाँगर बेच्दैनन्, उत्साह बेच्दैनन् र बेच्दैनन् आँखाको सपना पनि । थकावट, आलस्य, मनोरञ्जन, हाँसखेल, डुलफिर सबै टाढाटाढा भाग्छन् उनीहरूदेखि ।
कालेहरू खोला कुर्छन्, बुबाले पनि त्यही गरे, आज उनीहरू पनि आत्मसात् वा अनुसरण गरिरहेका छन् । सम्भव छ उनीहरूका सन्तानले पनि त्यही बाटो समाउलान् । जीवन मसानघाटझैं हमेशा सदाबहार, उर्वर र ज्वलनशील छ । आकाशमा सूर्य र चन्द्रमा देखिए, नदी बगे, हावाहुरी चले तर कालेहरूको जीवन कहिल्यै–कहिल्यै बदलिएन ।