खानेपानी मानवजीवनको आधारभूत आवश्यकता हो । यसको गुणस्तर जीवनका लागि महŒवपूर्ण छ । गुणस्तरीय खानेपानी भन्नाले जैविक, रासायनिक र भौतिकरूपमा शुद्ध र स्वस्थकर पानीलाई जनाउँछ । यसले मानव स्वास्थ्यमा कति पनि प्रतिकूल प्रभाव पार्नुहुँदैन । अतः गुणस्तरीय खानेपानीमा फोहोर, हानिकारक सूक्ष्म जीव, विषाक्त रसायन तथा अन्य प्रदूषक तŒव रहनुहुँदैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गुणस्तरीय खानेपानीले कुनै पनि व्यक्तिको स्वास्थ्य र जीवनस्तरमा प्रत्यक्षरूपले सकारात्मक प्रभाव पार्छ । नेपालले केही दशकयता खानेपानीको पहुँच विस्तारमा उल्लेख्य प्रगति गरेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशभरका झन्डै ९२ प्रतिशत नागरिक पानीको पहुँचमा छन् । तर गुणस्तरीय पानीको पहुँचमा भने निकै कम छन् । पानी र गुणस्तरीय पानी फरक कुरा हुन् । देशका धेरैजसो ग्रामीण क्षेत्रका बासिन्दा आज पनि दूषित पानी पिउन बाध्य छन्, शहरमा पाइपलाइनमार्फत वितरण गरिने पानीमा पनि गुणस्तरको समस्या छ । सङ्घीय राजधानी काठमाडौंमा वितरित पानीमध्ये ४० प्रतिशत पानी मात्र गुणस्तरीय छ ।
मुलुकका कतिपय स्थानमा वितरित पानीको शुद्धताका लागि कुनै उचित प्रविधि प्रयोग गरिएको छैन । जलस्रोत प्रचुर भएको देश नेपालमा प्रत्येक वर्ष पानीजन्य रोगका कारण हजारौं मानिस बिरामी पर्नुले गुणस्तरीय खानेपानीको अवस्थालाई चित्रण गर्छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधानका उपाय खोज्ने काम भइरहेको बताएका छन् । सरकारले गुणस्तरीय खानेपानीको उपलब्धताको लागि यस अघि पनि विभिन्न नीति तथा कार्यक्रमहरू अघि सारेको छ । जस्तै मुलुकव्यापी खानेपानी तथा सरसफाइ दशक (सन २०१६–२०२५), मेलम्ची खानेपानी आयोजना, दिगो विकास लक्ष्यलगायतका धेरै कार्यक्रम तथा योजना, परियोजनाहरू छन् । फेरि पनि यी प्रयासहरू पर्याप्त छैनन् । देशका ग्रामीण क्षेत्रहरूमा खानेपानी प्रणालीले पर्याप्त कभरेज गरेको छैन । पानी स्रोतहरूको दिगो व्यवस्थापन अभाव, स्रोतमा मानव मलमूत्र र रासायनिक प्रदूषण साथै पर्याप्त बजेट अभाव मुख्य समस्या हुन् । गुणस्तरीय खानेपानीको समस्या समाधान गर्न नेपालले दिगो रणनीति अपनाउन आवश्यक छ ।
दिगो रणनीति अन्तर्गत जलस्रोत संरक्षणका लागि दीर्घकालीन योजना अति आवश्यक छ । वन क्षेत्रको संरक्षण, जलस्रोतको पुनर्भरण र अवैध दोहन रोक्न कडा कानूनी व्यवस्था हुनुपर्छ । पर्याप्त मात्रामा खानेपानी शुद्धीकरण प्रविधि जडान अनिवार्य छ । स्थानीय स्रोतहरूको उपयोग गरी ससाना फिल्ट्रेशन प्रणाली स्थापनाले ग्रामीण क्षेत्रमा पानीको गुणस्तर सुधार्न सकिन्छ । त्यसैगरी, खानेपानीको आपूर्ति र व्यवस्थापनमा आबद्ध संस्थाहरूलाई सुदृढ पार्न जरुरी छ । क्षमता अभिवृद्धि, दक्ष जनशक्ति र पर्याप्त बजेटको व्यवस्था गरिनुपर्छ । यसको लागि निजी क्षेत्रलाई सहभागी गराएर दिगो व्यवस्थापन सुनिश्चित गर्न सकिन्छ । दूषित पानी पिउने कारण र त्यसले स्वास्थ्यमा पर्न सक्ने असरबारे जनतालाई शिक्षित गर्नु पनि महŒवपूर्ण कुरा हो । गुणस्तरीय खानेपानी आधारभूत आवश्यकताका साथै मानव अधिकार पनि हो । पानीको गुणस्तर सुधार्न सरकारले दीर्घकालीन सोच राखेर योजना निर्माण गर्नुपर्छ । दीर्घकालीन सोचका साथ योजना बने मात्रै समाधान पनि दीर्घकालीनरूपमा हुन सक्छ ।