जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जा स्रोतलाई देशकै प्रमुख ऊर्जा स्रोत बनाउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। यो योजना केवल जापानको ऊर्जा रणनीतिमा परिवर्तन ल्याउनुका साथै यसलाई भविष्यको ऊर्जा प्रणालीको मूल आधार मान्ने वैकल्पिक सोच हो। नेपालजस्तो जलविद्युत् र प्राकृतिक स्रोतले भरिपूर्ण मुलुकले जापानको यो प्रयासबाट सिक्न र लाभ लिन धेरै कुरा बाँकी छन्। नवीकरणीय ऊर्जाको स्रोत जस्तै सौर्य, वायु र जलविद्युत्, परम्परागत थर्मल पावर वा आणविक ऊर्जाभन्दा धेरै उत्कृष्ट मानिन्छन्।

उत्कृष्ट मानिनुका कारणहरू छन्। नवीकरणीय ऊर्जा उत्पादन गर्दा कार्बन उत्सर्जन न्यून हुने भएकोले जलवायु परिवर्तन रोक्न यसले महत्वपूर्ण भूमिका खेल्छ। थर्मल पावर उत्पादनका लागि आवश्यक जीवाश्म इन्धन (कोइला, ग्याँस) सीमित र दिन प्रतिदिन महँगो हुँदै गइरहेको अवस्थामा नवीकरणीय ऊर्जा दीर्घकालीन र लागत–कुशल साबित हुँदै गएको छ। सौर्य ऊर्जा, जलविद्युत् र वायु ऊर्जा जस्ता स्रोतहरू स्थानीयस्तरमैं उत्पादन गर्न सकिने भएकाले आयातमा निर्भरता कम गर्न सकिन्छ।

जापानले यो परिवर्तनलाई केवल ऊर्जाको सवालमा मात्रै नभई पारिस्थितिक, आर्थिक र सामाजिक लाभका रूपमा पनि हेर्दै आएको छ। नेपाल नवीकरणीय ऊर्जाको दृष्टिले प्रचुर सम्भावनायुक्त राष्ट्र हो। जलस्रोतमा सम्पन्न नेपालले हालसम्म उपलब्ध कुल जलविद्युत् सम्भावनाको केवल दुई प्रतिशत हिस्सा मात्रै उपयोग गरेको छ। यसको साथै, सौर्य ऊर्जा र वायु ऊर्जाको पनि पर्याप्त सम्भावना छ। नेपालमा झन्डै ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको तथ्याङ्कले देखाउँछ। तर प्रविधि र लगानीको अभाव साथै योजना कार्यान्वयनमा विलम्बताले यो क्षेत्रको विकास सुस्त छ। नेपालको भूगोल र मौसमको अवस्था अनुसार सौर्य ऊर्जा उत्पादनका लागि पनि अनुकूल छ। सौर्य ऊर्जा प्रयोग गरेर दुर्गम क्षेत्रहरूमा ऊर्जा पु–याउन सकिन्छ। त्यसैगरी, देशका पहाडी भेग र उच्च हिमाली क्षेत्रमा वायु ऊर्जाको सम्भावना पर्याप्त छ। यो प्रविधिमा थोरै लगानी र प्रविधि हस्तान्तरणबाट ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।

नेपालले जापानको उदाहरणबाट सिक्दै नवीकरणीय ऊर्जामा लगानी वृद्धि र नीति परिवर्तन गर्न सक्नुपर्छ। हामीले नवीकरणीय ऊर्जालाई दीर्घकालीन प्राथमिकतामा राखेर ठोस योजना बनाउन सक्नुपर्छ । सौर्य र जलविद्युत्को विकासका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नेपालले नीतिगत लचकता पनि देखाउनुपर्छ। यसका साथै आधुनिक प्रविधिको प्रयोगतर्फ ध्यान दिनुपर्छ, यसले उत्पादन लागत कम गर्दै ऊर्जा उपयोग बढाउन सकिन्छ। नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच साझेदारी आवश्यक छ। अतः जापानले आफ्नो देशलाई नवीकरणीय ऊर्जामा रूपान्तरण गर्दै गर्दा नेपालले पनि यस क्षेत्रको अधिकतम उपयोगतर्फ नीति निर्माण गर्दै पहलकदमी गर्ने समय आएको छ। यसलाई प्रतिबद्धताका साथ प्रभावकारी कार्यान्वयन गर्न सकियो भने हाम्रो मुलुकले पनि ऊर्जा निर्यातक राष्ट्रहरूमा महत्वपूर्ण स्थान लिन सक्छ। पछिल्ला समय केही प्रयासहरू भइरहेका भए तापनि यो पर्याप्त छैन। नवीकरणीय ऊर्जा उत्पादनलाई राष्ट्रिय 

समृद्धिको अभियानकै रूपमा अगाडि बढाउने हिम्मत सरकारले गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here