नेपालमा हरियो तरकारीको मूल्यले पछिल्लो समय उपभोक्तालाई थकित बनाएको छ । विगतका वर्षमा मङ्सिर लागेपछि सस्तो हुने भनिएका फूलकोभी र बन्दाकोभीजस्ता तरकारी पनि यस वर्ष महँगा छन् । बजारमा फूलकोभीको मूल्य प्रतिकिलो रु १०० हाराहारी छ । हरियो तरकारीको महँगीले उपभोक्ताको भान्सालाई सकस पारेको छ ।
यसरी हरेक वर्ष महँगीको अनुपात वृद्धि हुँदै जानुमा विभिन्न कारणहरू छन् । नेपालमा बर्सेनि तरकारी उत्पादन ४५ लाख मेट्रिक टन हाराहारीमा हुन्छ । तर माग भने बढी छ । अर्थात् स्वदेशी उपभोक्ताको माग अनुसार उत्पादन देशमा हुन सकिरहेको छैन । आपूर्ति क्षमता र मागबीचको खाडलले मूल्य नियन्त्रण गर्न कठिन बनाएको हो । मुख्यतः उन्नत बीउबिजनको कमी, सिंचाइ सुविधाको अभाव र कृषि श्रमिकको विदेश पलायनले उत्पादन घटाएको छ । नेपालले वार्षिक झन्डै रु ३० अर्बको तरकारी आयात गर्छ । तर आयातीत तरकारीले स्वदेशी उत्पादन प्रतिस्थापन गर्न नसकेको र सीमित क्षेत्र तथा वर्गका लागि मात्र उपलब्ध भएकोले मूल्यवृद्धि भइरहेको छ ।
कृषि उपजको बजार व्यवस्थापन पनि हामीकहाँ चुस्त छैन । किसान र उपभोक्ताबीच बिचौलियाको तह अत्यधिक हुँदा उपभोक्ता मूल्यमा ठूलो अन्तर आउने गरेको छ । किसानले न्यून मूल्य पाउँदा उपभोक्ता भने अत्यधिक मूल्यमा खरीद गर्न बाध्य छ । अर्कोतर्फ देशमा शहरीकरण तीव्र गतिमा भइरहेको छ । ग्रामीण क्षेत्रबाट शहरमा बसाइँ सर्ने प्रवृत्तिले शहरी क्षेत्रमा तरकारीको माग उच्च छ, ग्रामीण क्षेत्रमा उत्पादन गर्ने जनशक्ति घटेको छ, ग्रामीण तरकारी किसानको सङ्ख्या घट्दो छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा हरियो तरकारी उत्पादन घट्नुको थप कारण यो पनि हो । पछिल्लो समय हरियो तरकारीको उपभोगबाट स्वास्थ्यमा पुग्ने फाइदाबारे जनचेतना बढेको छ, यसले पनि माग बढ्दा उत्पादन भने बढ्न नसकेपछि मूल्यवृद्धि भएको हो । केही वर्षयता जलवायु परिवर्तनको असरले तरकारी उत्पादनमा अनिश्चितता थपिएको छ । असमयमा वर्षा, खडेरी, बाढी, पहिरो र डुबानले तरकारी उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको छ । फेरि पनि तरकारी उत्पादनको लागि नेपाल हरेकरूपले उर्वराभूमि हो । देशमा कुल उत्पादन क्षमताको पाँच प्रतिशत पनि हरियो तरकारी उत्पादन नभएको विभिन्न कृषि सर्वेक्षणले देखाइसकेका छन् । उत्पादनमा वृद्धि गर्न उन्नत प्रविधिको उपयोग, आधुनिक बीउबिजनको वितरण र सिंचाइ प्रणालीको विस्तार, यतिमात्रै गर्ने हो भने पनि अहिलेकै जमीन क्षेत्रफलमा पर्याप्त तरकारी उत्पादन सम्भव छ ।
तरकारी उत्पादनमा कृषक सहभागिता बढाउने हो भने उत्पादनको मूल्य उनीहरूको हातमा पु¥याउनुपर्छ । यसको लागि बिचौलिया कम गर्न किसानका उत्पादनहरूलाई सीधैं बजारमा पु¥याउने प्रणाली बनाउनु आवश्यक छ । सहकारी संस्था, किसान बजार र डिजिटल प्लेटफर्मको प्रयोग प्रभावकारी हुन सक्छ । आयात घटाउन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ । सरकारले अनुदान र प्रोत्साहन कार्यक्रममार्फत स्थानीय किसानलाई उत्पादन बढाउन प्रेरित गर्नुपर्छ । तरकारी उत्पादनको क्षेत्र ग्रामीण क्षेत्र हो । गाउँबाट शहर बसाइँ सर्ने क्रम नियन्त्रण गर्न शिक्षा, स्वास्थ्य, सूचना, यातायातलगायतका सेवासुविधा सरकारले गाउँमा उपलब्ध गराउन जरुरी छ ।