प्रस, वीरगंज, २४ मङ्सिर/
सहकारीको रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमवार वीरगंज ल्याइएको छ । यही मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सा जिल्ला अदालतबाट लामिछानेलाई बयानका लागि पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो र अदालतले आदेश जारी गरेपछि उनलाई आज वीरगंज ल्याइएको हो ।

गत बुधवार राति नै पर्सामा ल्याउने कार्यक्रम रहे पनि मधेस प्रदेशमा शुक्रवार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको र भोलिपल्ट शनिवार परेको तथा आइतवार पञ्चवषर््ीाय गढीमाई मेलाको लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको कारण उनलाई चितवनबाट रातारात कास्की जिल्लाको पोखरा बयानका लागि पु¥याइएको थियो ।

पोखराबाट सोमवार हवाईमार्गबाट काठमाडौं र त्यहाँबाट हवाईमार्गबाटै सिमरा ल्याएर जिप्रका, पर्सामा राखिएको छ । लामिछानेलाई वीरगंज ल्याउन लागिएपछि रास्वपाका कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै रिहाइका माग गरेका थिए ।

रास्वपाका केन्द्रीय सदस्य डा नन्दन यादव, जिल्ला अध्यक्ष हरि पन्तलगायतले प्रदर्शनमा ओली सरकारविरुद्ध नाराबाजी गर्दै अध्यक्ष लामिछानेलाई राज्यले फसाउन खोजेको भन्दै रिहाइको माग गरेका थिए ।

यस अघि काठमाडौंबाट बुद्ध एयरमा सिमरा विमानस्थलमा ओर्लेका लामिछानेलाई रिहाको माग गर्दै विमानस्थलद्वारमा रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतबाट लामिछानेविरुद्ध गत बुधवार पक्राउ पुर्जी जारी भए अनुसार नै उनलाई बयानका लागि आज वीरगंज ल्याइएको बताए ।

वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट ग्यालेक्सी टेलिभिजनको नाममा ऋण प्रवाह भएको र सो टेलिभिजनसँग आबद्ध लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । सहकारी प्रकरणमा पूर्वडिआइजी छविराज जोशीको घरमा छापामारी हुँदा त्यहाँबाट बरामद प्रमाणमा लामिछानेको पनि संलग्नता देखिएको र सोही आधारमा निजमाथि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

अहिले लामिछानेमाथि सम्पत्ति सुदृढीकरणको मुद्दा पनि लागेकोले उनीलाई ९० दिनसम्म हिरासतमा राखेर मुद्दा चलाउन सक्ने अधिकार प्रहरीलाई छ । यही कारणले लामिछानेलाई एकपछि अर्को सहकारीको मुद्दा लाग्ने र अदालतबाट पक्राउ पुर्जी जारी भएर बयान लिने कार्य भइरहेको छ ।

रवि लामिछानेलाई चितवनबाट गत बुधवार राति वीरगंज ल्याउने तयारी गरिएसँगै उनको बासको लागि जिप्रका, पर्साको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कक्षनजीकको कोठा तयार गरिएको थियो । आज सोही स्थानमा उनलाई राखिएको छ र प्रहरी निरीक्षकको कमान्डमा एक दर्जन सुरक्षाकर्मी तैनाथ छन् ।

थुनुवामा लामिछानेलाई खाना र नास्ताको व्यवस्था प्रहरीले मिलाएको छ तर यस क्रममा कसैसँग भेटघाट भने गर्न नदिने योजना बनाइएको प्रहरी स्रोतले जनाएको छ । आज लामिछानेलाई पर्सामा ल्याउनु अघि मधेस र बाग्मती प्रदेशका गणबाट सुरक्षाका लागि थप प्रहरी झिकाएको छ ।
वीरगंज महानगरपालिकाका सहकारी महाशाखा प्रमुख सुनील कर्णले सानोपाइलाको रकम हिनामिनाविरुद्ध वीरगंजका बचतकर्ताहरूले महानगरमा निवेदन दिंदा सानोपाइलाले उपलब्ध गराएका प्रमाणहरूमा लामिछानेको संलग्नता पुष्टि नभएको तर जोशीको घरबाट प्रमाणहरू बरामद भएपछि निजविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए ।

महानगरमा परेका उजूरीमा सानोपाइलाले बचतकर्ताहरूको ८८ करोड रकम हिनामिना गरेको देखिएको उनले बताए । महानगरपालिकाले सानो पाइलालाई सङ्कटग्रस्त घोषित गरिसकेको छ । सानो पाइलाविरुद्ध पर्सा जिल्ला अदालतमा १३ जनाविरुद्ध यस अघि नै पक्राउ पुर्जी जारी भएको र उनीहरूमध्ये केहीले अदालतले तोकेको धरौटीबापतको रकम बुझाएर साधारण तारेखमा छन् ।

आज वीरगंज ल्याइएका लामिछानेविरुद्ध भोलि मङ्गलवारदेखि सरकारी वकीलको कार्यालयमा बयान लिने कार्यक्रम छ । गोरखा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई लामिछाने अघि वीरगंज ल्याइसकेको प्रहरी स्रोतले बताएको छ । उनीहरूसँग आज जिल्ला सरकारी वकीलको कार्यालयमा बयान लिइएको छ ।

लामिछानेविरुद्ध कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा र वीरगंजको सानो पाइला बचत सहकारीको रकम अपचलनको आरोपमा बयान लिने कार्य हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here