प्रस, वीरगंज, २४ मङ्सिर/
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा बलिदानी कार्य सोमवार सम्पन्न भएको छ ।

हिजो राँगा र आज सोमवार बोकालगायत पशुपक्षीको बलिदान दिने कार्य सम्पन्न भएको छ । बलिदानका लागि शुक्रवारदेखि मानिसहरूको अत्यधिक भीड बढेको थियो ।

हिजो राँगा र आज बोकालगायत पशुपक्षीको बलिदान दिइएको मेला मूल समारोह समितिले जनाएको छ । राँगाको बलिदानका लागि बलि उपसमितिले मन्दिरअगाडि ब्रह्मस्थानको चौरमा व्यवस्था मिलाएको थियो ।

तर बोकाको बलि भने परम्परागतरूपमा मन्दिरको चार किल्लाभित्र गरिएको छ । गत वर्ष साढे सात हजार राँगाको बलिदान भएको थियो भने यसपटक करीब १० हजारको सङ्ख्यामा बलि चढेको मेला मूल समारोहका अध्यक्ष एवं महागढीमाई नपाका प्रमुख उपेन्द्र यादवले बताए ।

आज बोकालगायत पशुपक्षी हजारौंको सङ्ख्यामा बलिदान भएको अनुमान गरिएको छ । मन्दिर वरिपरिका क्षेत्रलाई चार किल्ला बनाएर बलि दिने कार्य भएकोले बोकालगायतका पशुपक्षीहरूको यकीन सङ्ख्या आकलन हुन सकेको छैन ।

आज बलिदान सम्पन्न भएको र बाँकी भाकलका बलि यसै वर्षको आगामी माघे सङ्क्रान्ति र त्यसपछि फागु पूर्णिमाका दिन बलि दिएर यसपटकको बलिदानी सम्पन्न हुन्छ र त्यसपछि अर्को पाँच वर्षमा लाग्ने मेलामा मात्र बलिदानीको कार्य हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here