प्रस, परवानीपुर, २२ मङ्सिर/
बाराको बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा पर्सा र बाराका स्थानीय तह र राजनीतिक दलका नेताहरूबीच स्वागत गेट लगाउने होडबाजी चलेको छ । मङ्सिर १ गतेदेखि शुरू भएको गढीमाई मेलामा मङ्सिर १७ गते शुक्ल पक्षदेखि मुख्य पूजा शुरू भएको र भक्तजनहरूको भीड शुरू भएको छ । वीरगंज महानगरका केही वडाध्यक्षहरूले महानगरको रजतजयन्तीदेखि प्रतिमाचोक बाइपास सडकमा स्वागत गेट बनाएका छन् । परवानीपुर गापाले बजार क्षेत्रमा गेट निर्माण गरेको छ । वीरगंज–कलैया–बरियारपुर सडकखण्डमा स्थानीय तह र नेताहरूले गेटै गेट बनाएर मेला भर्न आएकाहरूलाई स्वागत गरेका छन् ।

यसरी बनाइएका स्वागतद्वारहरूमा २५ हजारदेखि एक लाख रुपैयाँ खर्च भएको बताइन्छ । बाराको हुलाकी राजमार्ग र भारतीय सीमावर्ती क्षेत्रबाट मेलामा आउने सडकमा समेत स्थानीय नेता तथा जनप्रतिनिधिहरूले स्वागतद्वार बनाएका छन् । स्वागतद्वारमा गरिएको यस प्रकारको खर्चको साटो स्थानीय तह र राजनीतिक दलका नेताहरूले मेलाका लागि आवश्यक अन्य कार्यहरूमा खर्च गरेको भए राम्रो हुने सखुवाप्रसौनी गापा–२ का वासुदेव चौधरी बताउँछन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरू, पार्टीका अध्यक्षहरू र विभिन्न सङ्घसंस्थाहरूले स्वागतद्वार बनाएका छन् । यसरी सरकारी रकमको दुरुपयोग भएको र सोही बराबरको रकम मेलाका लागि सहयोग गरिएको भए गतिला कामहरू हुने उनी बताउँछन ।

चार हजार कपडा वितरण
प्रस, वीरगंज/
वीरगंज कपडा बैंकले बलिका लागि विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा शनिवार चार हजार कपडा वितरण गरेको छ ।

वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेलले मेलास्थलमा आज चार हजार थान कपडा वितरण गरिएको बताए । उनले मेला भर्न आएकाहरूले आवश्यकता अनुसार बैंकले राखेको स्टलबाट निश्शुल्क कपडा लिएर गएको बताए ।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकारहरू पन्नालाल गुप्ता, केदार गुप्ता, पवन गुप्ता, सदस्यहरू सञ्जय पटेल, राजेश पटेल, विश्वेश्वर पटेल, आकाश पटेल, श्रवण रायमाझी, राजेन्द्र भट्टराई, जानकी देवी, शोभा देवीलगायतले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here