प्रस, परवानीपुर, २३ मङ्सिर/
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा आइतवार झन्डै १० हजार राँगाको बलि चढेको र सिनो दलितहरूले लुटेर लगेका छन् ।

गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आज करीब १० हजारभन्दा बढी राँगाको बलि दिइएको बताए । उनले भने– समितिमा कुल तीन हजार पाँच सय रसिद कटेका छन्, जसमा एकजनाले एकदेखि २१ वटासम्म बलिको लागि राँगाको शुल्क बुझाएका छन् ।

समितिले प्रतिराँगाको पाँचसय शुल्क निर्धारण गरेको थियो । शुल्क नबुझाएर पनि एक हजार स्थानीयले राँगाको बलि दिएको अध्यक्ष यादवले बताए । बरियारपुरका स्थानीयले शुल्क नबुझाएर हजार बढी राँगाको बलि दिएको उनले बताए । उनले प्रारम्भिक अनुमान १० हजार रहेको र बलि व्यवस्थापन उपसमितिले प्रतिवेदन बुझाएपछि यकीन जानकारी हुने बताए ।

राँगा बलिका लागि गढीमाई ल्याउनका भारतीय सुरक्षाकर्मीहरूले यसपटक पनि सीमामा अवरोध गरेको सुनिएको उनले बताए । सीमामा भारतीय सुरक्षाकर्मीहरूको अवरोधले बिहार र उत्तर प्रदेशबाट बलिका राँगाहरू कम आएको उनले बताए ।

नेपालका विभिन्न स्थानबाट स्वेच्छाले राँगाको बलि दिन आएको उनको भनाइ थियो । सीमामा अवरोधका कारण राँगा बलिका लागि आउने सो क्षेत्रका मानिसहरूले यसपटक पनि दुःख भोग्नुपरेको बताए । बलिका लागि विश्वमा प्रख्यात पञ्चवर्षीय गढीमाई मेलामा पशुबलिका लागि आउने राँगा र बोकालाई भारतले यस अघिको मेलादेखि रोक लगाउँदै आएको छ ।

समितिका अध्यक्ष यादवले आइतवार बिहान ४ देखि ६ बजेसम्म चलेको विशेष पूजापछि पञ्च बलि दिइएको र त्यसपश्चात् ब्रह्मबाबा स्थाननजीकै राखिएका राँगाहरूको बलि दिने कार्य भएको बताए । उनले बिहान ६ देखि अपराह्न तीन बजेसम्म राँगाको बलि दिइएको जानकारी गराए ।

बलिपश्चात् आसपासका चमार समुदायले सिनो लुटेर लगेको उनले बताए । प्रत्येक मेलामा चमार समुदायले गढीमाईको प्रसाद भनेर सिनो लुटेर लैजान गरेकोले यसपटक राँगाको मासुको ठेक्का नलगाएको बताए । मासु लुटिने र ठेकेदारलाई क्षतिपूर्ति दिनुपर्ने हुँदा यसपटक मासुको ठेक्का नलगाइए पनि छालाको ठेक्का लगाइएको बताए । केही राँगाको छाला निकालिएको तर अधिकांश राँगा छालासहित लुटेर लगिएको अध्यक्ष यादवले बताए ।

समितिले राँगाको प्रतिछाला रु ६० मा ठेक्का लगाएको थियो । प्रतिछाला रु २०० मा ठेक्का आह्वान गरिएको तर पटकपटक अस्वीकृत भएपछि स्थानीय ठेकेदारलाई प्रतिराँगा रु ६० मा छालाको ठेक्का दिइएको अध्यक्ष यादवले बताए । चमारहरूले पञ्चवर्षीय मेलामा सिनो नलुट्ने र बहिष्कार गर्ने घोषणा गर्दै आएका र सोही अनुसार ठेक्का लाग्ने गरेको तर उनीहरूले परम्परालाई अहिलेसम्म बे्रक नलगाएको कारण अघिल्ला मेला सरह यसपटक पनि बलि दिएका राँगाको मासु लुटेर लगेको उनले बताए ।

चमार समुदायले भने परम्परागतरूपमा बलि चढेको राँगाको मासुमा आफूहरूको हकअधिकार रहेको बताएका छन् । राँगाको बलि दिने अधिकांशले मासु लग्दैनन् । तत्काल मासु नलग्दा गन्हाएर वातावरण दुर्गन्धित हुने हुँदा बलि चढेका राँगा तत्कालै लिएर जाने गरेको चमार समुदायका एकजनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here