नन्दनगरको नजीक सुन्दरपुर भन्ने एक गाउँ थियो । गण्डक नहरबाट ओर्लेर सोझै त्यहीं गाउँमा पुगिन्थ्यो । त्यही गाउँमा एक महल थियो, जसमा नेताजीको निवास थियो । उनको नाम त थियो, रामअयोध्या तर सबैले उनलाई नेताजीको नामले नै चिन्थे । उनको नाममा राम र अयोध्या दुवै थियो । तर उनको काम राम वा अयोध्या भएको कसैलाई थाहा थिएन । यसो उनी धेरै विनम्र नेतामा गनिन्थे । यसै विनम्रताको बलमा उनी गाउँभरिको जमीनलाई आफ्नो बनाउनमा सफल मात्र भएका थिएनन्, बरु थरुहटमा त्यसभन्दा पनि बढी खेत आर्जन गरिसकेका थिए । तर नेताजीको आर्जन गर्ने बानी बूढेसकालसम्म पनि समाप्त भएको थिएन । उनले आर्जन गर्नका लागि यति बढिया बढिया नुस्खा जानेका थिए कि नन्दनगरका शहरियाहरूले पनि उनको अगाडि पानी भर्थे । उनको टक्करमा नन्दनगर शहरले कोही पैदा गर्न सकेको थिएन । यस्तै एक योजना उनको दिमागमा फुरेपछि उनी सुनाउन र जिस्काउनको लागि आफ्नो काका पर्ने परमेसरकोमा गए । नेताजीले परमेसरलाई नन्दनगरमा एक कट्ठा जग्गा दिलाएबापत उनको २२ कट्ठा खेत अहिले नै आफ्नो बनाएका थिए । नेताजीलाई नेता बनाउनमा परमेसरको ठूलो हात थियो । नेताजीले अक्सर भन्ने गर्थे– म पैसा कमाउँदिनँ, म रिश्वत लिदिनँ । चाटुकार र गलत दोस्तको सङ्गत गर्दिनँ । म त्यही अनुसार आफ्नो जीवन व्यतीत गर्छु, जो हाम्रो शास्त्र संस्कारमा बताइएको छ । अरू कुरामा त भन्न सकिन्न तर वास्तवमा नेताजीले शराबलाई छुँदा पनि छँुदैनथे । ठूलोठूलो पार्टीमा नेताजी जाने गर्थे । स्वयम् आफूले पनि अरूलाई पार्टी दिने गर्थे । अरूलाई उनको पार्टीमा उनी शराबको व्यवस्था गरिदिन्थे । तर आफूले शराबलाई हात पनि नलगाउने उनको प्रतिज्ञा थियो ।
यस्ता विनम्र, निरामिष र परमपुज्य नेताजी आफ्नो काका परमेसरकोमा अक्सर जाने गर्थे र त्यस दिन पनि गए र उनीसँग कुराकानी गर्न थाले– “के भनूँ काका । जबदेखि भूमिसुधार आएको छ, तबदेखि नै हामी झगडा र झन्झटले हैरान छौं । यो त राम्रै भयो कि मोहीवाला खेत दिदीलाई दिइहाले । अब त्यसले निपटारा गरोस् मोहीसँग । अब राम्रो मानिसलाई गाउँ रहनलायक रहेन । जमीन जायदाद सम्पति नभएको भए म नन्दनगरमा नै घर बनाएर त्यहीं स्थायी बसोबास गरी हाल्थे ।
काकाले नेताजीको कुरा सुनिरहेका थिए । उनलाई थाहा थियो कि भतिजले यस्तो किन भनिरहेको छ ? भतिज नेता त बनिसकेको छ तर उनको दिमाग पनि कम थिएन । उनको जमानामा परमेसरविना कुनै पञ्चायती हुँदैन थियो । उनको अनुपस्थितिमा पञ्चायत स्थगित हुन्थ्यो । परमेसर एक बेहद इमानदार र चतुर व्यक्ति थिए । त्यो त परिस्थितिले यसरी बाध्य बनायो कि उनको सम्पत्ति बिक्री भयो । पारिवारिक बोझले उनलाई थिचिदियो अन्यथा यस्तो नेताजी उनी स्वयम् बनाउँथे । नेताजीलाई पनि उनले नै बनाएका थिए, नत्र के नेता हुन्थ्यो ऊ ? परमेसर एक बेहद र चतुर व्यक्ति थिए । उनले बडो चतुराइपूर्वक नेताजीप्रति व्यङ्ग्यबाण छोडे– “बाबु सचमा गाउँ अब रहनलायक रहेन । तर म कहाँ जाउँm ? तिमी त कुनै पनि शहरमा गएर बस्न सक्छौ । त्यहींबाट आफ्नो श्रीसम्पत्तिको देखभाल गर्न सक्छौ । तर मलाई त यहीं जिउनु र यहीं मर्नु पनि छ । गाउँका मानिस नराम्रा छन् भने हामी पनि किन नराम्रो बनौं ? अब चन्दरले मेरो खेत जबरजस्ती जोतिलियो, तब उनी त गाउँका मान्छे थिएनन् नि । उनी त आफन्त नै हुन् । तिम्रो काका पनि हुन् उनी । सबै कुरा तिम्रो सामुमा घटित भए । बाबु यदि गाउँका मान्छे यति नराम्रा छन् भने तिमी नेताहरूले उनीहरूलाई सुधार्न कुनै उपाय किन गर्दैनौं ? के कुनै उपाय छैन ?
नेताजीले भने– “सुधार्ने उपाय मैले निकालिसकेको छु काका तर तपाईंलाई बताउँदिनँ ।” नेताजी पनि कम चलाख थिएनन् । उनले काकालाई जवाब दिए– “छाडिदिउँ भने त गाउँलेहरूले झन् रहन दिंदैनन् । म आजै गइरहेको छु, यसको उपाय निकाल्न ।” काकालाई केही समझमा आएन कि के उपाय भतिजले निकाल्ने छ । गाउँभरिका मानिसलाई सुनाइरहन्छ कि गाउँमा रहेर के हुन्छ ? शहरमा रहनुपर्छ । तर गाउँमा नै जमीनमाथि जमीन खरीद गरिरहेको छ । स्वयम् मेरो २२ कट्ठा शहरको एक कट्ठाको बदलामा लिइहाल्यो । सम्पूर्ण गाउँमा उसकोबाहेक जमीन कसैको छैन । एक अर्को गाउँमा ५० बिघाको चकबन्दी नै लिइहाल्यो । यो त एक नम्बरको घाघ भइसकेको छ । गाउँका जुन मान्छे पनि यसको नजीक जान्छ, त्यसलाई गाउँमा रहनु ठीक हुँदैन भने मात्र सिकाइरहन्छ । स्वयम् गाउँमा एकछत्र राज गर्छ । काकालाई के थाहा कि उसको उपाय के के हुनेवाला छ ? उनलाई राजनीतिक हलचल वा गाउँको छलकपट एवं चलखेल केही थाहा थिएन । काका राणाहरूको जमानाका मान्छे थिए, जो बूढो शेर भइसकेका थिए ।
उता मोटरसाइकल चढेर नेताजी नन्दनगर पुगे । धेरै दिनदेखि उनी आफ्नो योजनामा काम गरिरहेका थिए । के हुन्छ शहर गएर ? गाउँका मान्छेलाई मजा पनि चखाइदिनेछु र आफ्नो वारा न्यारा पनि हुनेछ । आज आफ्नो योजनालाई मूर्तरूप दिनैपर्छ । म शहर किन जाने ? मैले गाउँलाई नै शहर बनाइदिउँ भने कति राम्रो हुनेछ ? शहर बनाउनको लागि के चाहियो ? एक पिच रोड बनाइदिए बस गाउँ शहर बनिहाल्नेछ । एउटा सडक बस काम खत्म । नन्दनगरबाट सुन्दरपुर गाउँको दूरी बस १० माइल मात्र त छ, शहर त भइ नै हाल्छ । साराका सारा जमीन मेरो हो, उनको मूल्य आसमान छुन थाल्नेछ । हाम्रो जमीन सोना होइन, हीरा हुनेछ । पुस्तौं पुस्ता मोजमा बित्नेछ । तर नेताजीले आफ्नो काम सोझै स्वयंले गर्दैनन् । त्यही काम अरूसँग नै गराइहाल्ने उनको गजबको कला थियो । यसले गर्दा कुनै पनि कामको अपजस उनीमाथि कहिले पनि आउन सकेन । यसै गुणले उनी घाघ नेताजीमा दरिएका थिए । उनले मोटरसाइकललाई नन्दनगरको प्रधानको घरनजीकै रोकिदिए । प्रधानले नेताजीको सम्मान गर्थे । नेताजीले हर्न बजाए र भित्र दाखिल भए । एक सोफामा प्रधान साहेब बसेका थिए । उनले उभेर नेताजीको स्वागत गरे र सोधे– नेताजी तपाईंले यहाँ आउनको लागि किन कष्ट गर्नुभयो ? मलाई नै बोलाएको भए, म तपाईंकहाँ आइहाल्थे नै ?
नेताजी– “त्यो त हो तर म तपाईंलाई बोलाउन नै आएको हुँ । हिंड्नुस् मसँग । प्रधानज्यूले कहाँ कहाँ भनिरहे नेताजीले उनको बाह समातेर फिस्स हाँस्दै खडा गरिएको मोटरसाइकलमा बसाए र आफ्नो गाउँ सुन्दरपुर ल्याए । उनलाई चिया र नास्ता गराएर भने– “म तपाईंलाई यहाँ एउटा कष्ट दिनको लागि ल्याएको हुँ । साँच्चै तपाईंलाई कष्ट नै हुनेछ । तपाईं शहरका भलमानस हुनुहुन्छ, खेतमा चल्ने बानी छैन । तर आज तपाईंले खेतमा चल्नुपर्छ ।” प्रधानज्यू उनको साथ गाउँबाहिरको माईस्थान मन्दिरसम्म आए । बाहिर ल्याएर नेताजीले उनलाई आफ्नो खेत देखाउन शुरू गरे । जहाँसम्म प्रधानज्यूको दृष्टि जान्थ्यो, त्यहाँसम्म खेत नै खेत । सबैमा गहुँका बालाहरू लहराइरहेको थियो । गाउँदेखि नन्दनगरसम्म सोना उगल्ने खेतमा सोना जस्तो वालाहरू बिखरेको थियो । प्रधानज्यूले भने– “यो त देखे नेताजी । यसैले त तपाईं गाउँलेहरू हामी शहरवासीलाई जित्नुहुन्छ । यति सम्पन्नता जहाँ छ, त्यहाँ हामी शहरवासीको के औकात ?
नेताजी– “यसरी नभन्नुस् प्रधानज्यू । यही बुझ्नुस् कि तपाईं पनि यसै औकातमा सामेल हुनेवाला बन्नुहुनेछ ।” “कुन र कस्तो औकात ?”र् “यहाँ बताउँदिनँ । हिंड्नुस यहाँको काम भयो ।”
नेताजीले फेरि प्रधानज्यूलाई घर ल्याए । उनले मनमने सोचे कि प्रधानज्यू त स्वयं हामीभन्दा पनि सम्पन्न व्यक्ति हुन् । तर पनि हाम्रो जमीन हेरेर उनको ईष्र्या जागेर आयो । यी जमीनदारहरू पनि कम्ती लालची हुँदैनन् । नेताजीले फेरि आफ्नो मोटरसाइकलमा उनको आफ्नो घर पु¥याएर आफ्नो सारा योजनालाई सम्झाइदिए । प्रधानज्यू त नेताजीको योजना सुनेर भौंचक भए । यी त हामीले सोच्ने कुरा हो किनभने नन्दनगरको म मेयर हुँ । यिनले कसरी सोचिहाले ? खैर जसले पनि सोचे नेताजी तपाईंको यो प्लान अनौठो छ । मैले आजैदेखि यस प्लानमा लाग्नेछु । हेर्नुहोला कि अञ्चलाधीश, सिडिओ, एसपी, डिएसपी र वडाध्यक्षहरूले कसरी सिनो खान झुम्मिनेछन् ? नेताजी अति प्रसन्न भएर त्यहाँबाट फर्के ।
अर्को दिन प्रधानको आफिसमा एक मिटिङ बस्यो, जसमा अञ्चलाधीश, सिडिओ आदि सबै हाकिम उपस्थित थिए । नेताजी यिनमा केवल अञ्चलाधीशसँग मात्र डराउँथे । अञ्चलाधीशको शक्ति नेताजीभन्दा बढी थियो । नेताजी त्यस मिटिङमा सामेल भएनन् । यो उनको आफ्नै तरीका थियो, आफ्नो काम सहर्ष अरूसँग गराइहाल्ने । त्यस मिटिङमा सुन्दरपुरदेखि नन्दनगरसम्म एक सडक बनाउने प्रस्ताव पास भयो । माथिबाट मन्जुरी नपाएपनि अञ्चलाधीशले आफ्नो बलमा नक्शा पनि बनाउन लगाएर तयार पारे । नक्शा लिएर खुशीपूर्वक प्रधानज्यूले नेताजीलाई बोलाएर देखाए । नक्शा हेरेर नेताजीको तलुवाको जमीन नै खस्कियो । उनको भङ्गिमा देखेर प्रधानज्यूले सोधे– “किन नेताजी खुशी हुनुभएन ? यो त तपाईंकै योजना हो ।”
त्यो त हो प्रधानज्यू । तर यसमा परमेसर काकाबाट लिएको जमीन सखाप भइरहेको छ । यसो त चारैतिर मेरै जमीन छ तर त्यो २२ कट्ठा नपरोस् भन्ने म चाहन्छु । तपाईंले फेरि मिटिङ बोलाउनुस् । म स्वयम् त्यसमा उपस्थित हुनेछु । फेरि मिटिङ बोलाइयो । त्यसमा उपस्थित भएर नेताजीले अनजान बनेर भने– “अञ्चलाधीशज्यू, म यस क्षेत्रको नेता हुँ । यति ठूलो योजना मलाई पत्ता पनि लागेन किन ?” अञ्चलाधीशले भने– पत्ता त लागि नै हाल्छ । तपाईंविना यो काम कसरी सम्पन्न हुनेछ ? तपाईंको जमीन पनि त सोना भइहाल्छ । यसमा तपाईंले अडङ्गा नलगाउनुस् । तपाईं केवल विकास मात्र हेर्नुस् कि हामीले कसरी गर्दैछौं ?”
नेताजीले भने– “अञ्चलाधीशज्यू तपाईंले अडङ्गा जस्तो शब्द ममाथि प्रयोग गर्दै हुनुहुन्छ । के सम्झनुहुन्छ तपाईं ? जे मनमा आउँछ, त्यो गर्नुहुन्छ । आखिर मेरो पनि केही हैसियत छ कि छैन ?”
“होइन होइन, तपाईंको हैसियत किन छैन ? म अञ्चलाधीश मात्र हुँ, तपाईं यस इलाकाको नेताजी । भोलि मन्त्री बन्नुहुन्छ, म त बन्नेछैन,” अञ्चलाधीशले नेताजीमाथि व्यङ्ग्यबाण छोडे । नेताजी तिलमिलाए । उनलाई थाहा थियो कि नेताभन्दा अधिक शक्ति त अञ्चलाधीशमा हुन्छ । अञ्चलाधीशले रिपोर्ट लेखिदिए भने त नेतागिरी नै समाप्त हुनेछ । उनी चुप्प लागे । मनमनै भने, खैर योजना त मेरै थियो । फेरि बिन्तीको स्वरमा भने– “ठीक छ, अञ्चलाधीशज्यू । म विकासको काममा बाधा डाल्नेछैन । म मान्छु कि तपाईंले जे चाहनुभयो, त्यही हुन्छ तर एउटा कुरा मेरो पनि मानिलिनुस् ।”
“हुन्छ, कुन कुरा ?”“यो जुन नक्शा छ, त्यसलाई यहाँदेखि अलि पूर्वतिर मोडिदिनुस् । यसले सडक सोझो भएर अलि मोड लिएको हुन्छ तर मेरो २२ कट्ठा खेत बच्नेछ । यस्तो गर्नमा कुनै बाधा पनि छैन किनभने काम अहिले शुरू भएको छैन ।”
अञ्चलाधीशले सोचे कि अब नेताजी सोझो बाटोमा आएछन् । धेरै बकबक गरिरहेका थिए । अब समझमा आएको छ । उनले भने– “नेताजी तब यो किन पहिले भन्नुभएन ? जानुस् तपाईंले जे चाहनुहुन्छ, त्यही हुनेछ । ए इन्जिनीयर सडक नेताजीले भने अनुसार मोडिदेउ ।” अञ्चलाधीशले इन्जिनीयरलाई हुकुम गरे ।
मिटिङ समाप्त भयो । नेताजी खुशीखुशी घर फर्के । अञ्चलाधीशलाई लाग्यो कि उनले नेताजीको औकात देखाइदिए । नेताजीलाई लाग्यो कि उनले कसरी आफ्नो योजनामा सबैलाई सामेल गराएर देखाइदिए ? यसरी उनले २२ कट्ठा जग्गा बचाए तर सडकले मोड लिएकोले रहमत, साबिर र परमेसरको सखाप भएर गाउँबाट उजाडिए ।
तर नेताजीलाई यसको के मतलब ? उनका त समस्त खेत सोना होइन हीरा भइसकेका थिए । त्यसपछि नेताजी फेरि दुई गुणा उत्साहले यस्तै अर्को लोकसेवामा लागे ।