नरेश यादव, पर्सागढी, २० मङ्सिर/
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ नाराका साथ बिहीवार पर्सागढी नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठकले महिला हिंसा अन्त्यका लागि शुरूमा आफ्नो घर, टोल, समाजबाट अभियान शुरू गर्नुपर्ने सुझाए । उनले घरदेखि समाजसम्म महिला र पुरुषबीच हुने भेदभाव हटाउन सकेको खण्डमा अभियानले सार्थकता पाउने बताए । महिलाहरूलाई अगाडि बढ्ने अवसर दिनुपर्ने उनले बताए । उनले बुझेकाहरूले नबुझेकाहरूलाई यसबारेमा जानकारी गराउन नसक्दा पनि समस्या विकराल बन्दै गएको बताए ।
उपप्रमुख पूजा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले सामाजिक लिङ्ग भनेको के हो, लैङ्गिक हिंसाका प्रकार, शारीरिक हिंसा, आर्थिक तथा सामाजिक हिंसा, यौनजन्य हिंसा, महिला हिंसा, घरेलु हिंसाका कसूर र सजायलगायतका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र नारायणी अस्पतालकी रक्षा अधिकारीले महिला हिंसाबारेमा सहभागीहरूलाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशी, वडाध्यक्ष वीरेन्द्र चौधरी, रामबढाई यादव, शेष खुर्सेद, कार्यपालिका सदस्य सीता लामालगायत वडासदस्यहरू, सचिवहरूको सहभागिता थियो । कार्यक्रममा स्वागत स्वास्थ्य शाखा प्रमुख नारायण पौडेलले गरेका थिए भने सहजीकरण महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शोभा मल्लिकले गरेकी थिइन् ।