प्रस, परवानीपुर, २० मङ्सिर/
पर्सा, बारा र रौतहटका दलितहरूले यसपटकको गढीमाई मेलामा दिइने राँगाको बलिमा सिनो बहिष्कारको घोषणा गरेका छन् । सिनो बहिष्कार समिति पर्सा, बारा र रौतहटका प्रचार प्रमुख तेजनारायण रामले दलित अगुवाहरूको बैठक बसेर सिनो बहिष्कारको निर्णय गरिएको बताए ।
उनले सिनो बहिष्कारको निर्णय गढीमाई मेलाको समयमा दलितहरूबाट हुने गरेको तर विभिन्न कारणले प्रभावकारी नभएको स्वीकारे । उनले पञ्चवर्षीय मेलामा बलि चढेका राँगाको सिनो दलित समुदायले लुटेरसमेत लाने गरेकामा पछिल्लो समयदेखि यसमा थोरै भएपनि कमी आएको दाबी गरे । उनले यसपटक यो अभियानलाई सार्थकता प्रदान गर्नका लागि तीनवटै जिल्लाका दलित समुदायलाई श्रव्यदृश्यको माध्यमबाट पनि सचेत पार्दै आएको बताए ।
हाम्रो प्रयास यसपटक पनि जारी छ र शिक्षाको पहुँचमा रहेका दलितहरूको यसमा सहभागिता नहुने उनले दाबी पनि गरे । चमार तथा दलित समुदायको हकअधिकारको पक्षमा काम गर्ने भीम आर्मी नेपालका संयोजक सुनील रामले आफ्नो समुदायमा परिवर्तनको प्रयास जारी रहेको र यसले चाँडै प्रभाव पार्ने बताए ।
उनले यस अघिको मेलामा आफ्नो समुदायका मानिसहरूले बासको बार तोडेर सिनो लगेको स्मरण गर्दै यसपटक सो कार्य नदोहरियोस् भनेर मेला मूल आयोजक समितिसँग पनि यसबारेमा छलफल भएको बताए । दलित महिला सङ्घ पर्साकी अध्यक्ष नीला रामले शिक्षाको अभावले चमार र दलित समुदायबाट सिनो उठाउने कार्य हुँदै आएको बताइन् ।
उनले अव्यवस्थित तरीकाबाट राँगाको छाला निकालिने र त्यस्तो मासु दलितहरूले खादा स्वास्थ्यका लागि पनि हानिकारक हुने सन्देशमूलक जनचेतना जगाउने कार्य भइरहेको बताइन् । मेला मूल समितिले राँगाको छाला र मासु ठेक्काबाट बिक्री गर्दै आइरहेको छ ।
तर गत वर्ष साढे सात हजार राँगा र यसपटक अनुमानित ११ हजार राँगाको बलि दिने योजना रहेकामा बलि चढाइएका सबै राँगाका छाला र मासु व्यवस्थित तरीकाबाट सङ्कलन गर्न सकिने वातावरण नबन्दा ठेकेदारहरू र मेला समितिबाट राँगाको सिनो लुटाउने अनि ठेकेदारबाट लाखौं क्षतिपूर्तिको मागदाबी गराइ सोको भुक्तानी गरी अनियमितता हुने काम पनि नौलो होइन ।