प्रस, वीरगंज, १९ मङ्सिर/
सहकारीको रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पर्सामा पनि बयान दिन आउनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतबाट लामिछानेविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको बताए । उनले पर्सा प्रहरीले अदालतबाट लामिछानेलाई बयानका लागि पक्राउ पुर्जी जारी गर्न आदेश माग गरेको र अदालतले आज सो आदेश दिएको बताए ।

वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट ग्यालेक्सी टेलिभिजनको नाममा ऋण प्रवाह भएको र सो टेलिभिजनसँग आबद्ध लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुताइएको छ । सहकारी प्रकरणमा पूर्वडिआइजी छविराज जोशीको घरमा छापामारी हुँदा त्यहाँबाट बरामद प्रमाणमा लामिछानेको पनि संलग्नता देखिएको र सोही आधारमा निजमाथि पक्राउ पुर्जी जारी भएको हो ।

लामिछानेलाई अहिले चितवनको सहारा सहकारीको रकम हिनामिनाको आरोपमा बयान लिने कार्य भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ पुर्जी जारी भएर लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । त्यसै दिनदेखि उनलाई रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौं र चितवनको सहारा सहकारीमा बयानका लागि लग्ने कार्यले निरन्तरता पाउँदै आएको छ ।

अहिले लामिछानेमाथि सम्पत्ति सुदृढीकरणको मुद्दा पनि लागेकोले उनीलाई ९० दिनसम्म हिरासतमा राखेर मुद्दा चलाउन सक्ने अधिकार प्रहरीलाई छ र यही कारणले लामिछानेलाई एकपछि अर्काे सहकारीको मुद्दा लाग्ने र अदालतबाट पक्राउ पुर्जी जारी भएर बयान लिने कार्य भइरहेको छ । उनको दल रास्वपाले भने अध्यक्ष लामिछानेलाई सरकारले पूर्वाग्रही भएर कारबाही प्रक्रिया अगाडि बढाएको आरोप लगाउँदै आएको छ । 

लामिछानेलाइ आजै राति वीरगंज ल्याइँदै

रवि लामिछानेलाई चितवनबाट बुधवार राति वीरगंज ल्याउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । चितवनमा उनको समर्थक बढी भएकाले राति वीरगंज ल्याउने तयारी गरिएको प्रहरीले बताएको छ ।

लामिछानेको बासको लागि जिप्रका, पर्साको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कक्षनजीकको कोठा तयार गरिएको छ । सामान्य थुनुवाभन्दा फरक ढङ्गबाट उनलाई थुनुवा कक्ष बनाएर राखिन लागेको स्रोतले बताएको छ ।

वीरगंज महानगरपालिकाका सहकारी महाशाखा प्रमुख सुनील कर्णले सानोपाइलाको रकम हिनामिनाविरुद्ध वीरगंजका बचतकर्ताहरूले महानगरमा निवेदन दिंदा सानोपाइलाले उपलब्ध गराएका प्रमाणहरूमा लामिछानेको संलग्नता पुष्टि नभएको तर जोशीको घरबाट प्रमाणहरू बरामद भएपछि निजविरुद्ध पक्राउ पुर्जी जारी भएको हुन सक्ने बताए ।

महानगरमा परेको उजूरीमा सानोपाइलाले बचतकर्ताहरूको ८८ करोड रकम हिनामिना गरेको देखिएको उनले बताए । महानगरपालिकाले सानोपाइलालाई सङ्कटग्रस्त घोषित गरिसकेको छ । सानोपाइलाविरुद्ध पर्सा जिल्ला अदालतमा १३ जनाविरुद्ध यस अघि नै पक्राउ पुर्जी जारी भएको र उनीहरूमध्ये केहीले अदालतले तोकेको धरौटीबापतको रकम बुझाएर साधारण तारेखमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here