प्रस, वीरगंज, १९ मङ्सिर/
वीरगंज महानगरका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवारदेखि शुरू भएको छ ।
युवा संस्थाद्वारा विगत तीन वर्षदेखि सञ्चालित युथ एक्सेस परियोजना अन्र्तगत वीरगंज महानगरमा आजदेखि चौथो वर्षको अभिमुखीकरण शुरू गरिएको युवा संस्थाका कार्यक्रम संयोजक आशु सर्राफले बताए ।
उनले परियोजना अन्तर्गत पहिलो दिन वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूलाई सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिएको बताए । उनले युथ एक्सेस परियोजना अन्तर्गत प्रत्येक वर्ष १० जना युथ च्याम्पियनहरू चयन गरिने र उनीहरूलाई विशेष ताीलम दिएर विद्यालयस्तरमा यौनिकता र स्वास्थ्यसँगै सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउने कार्य गर्दै आएको बताए ।
वीरगंजमा सञ्चालित युथ एक्सेस परियोजनाले सुरक्षित गर्भपतन र यौनिकतासम्बन्धी जानकारी अभिवृद्धि गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्यले काम गरिरहेको बताउँदै सर्राफले परियोजनाका माध्यमबाट विद्यार्थीहरूमा यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाइ विस्तार हुने र यसले उनीहरूको स्वस्थ भविष्य निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको जानकारी गराए ।
उनले अमेरिकी संस्थाको सहयोगमा वार्षिक २५ वटा संस्थागत र सामुदायिक विद्यालयमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिने लक्ष्य रहेको र यस वर्षको अभिमुखीकरण आजदेखि शुरू भएको बताए । विद्यालयहरूले अनुकूल समय प्रदान गरेपछि मासिक तीनवटासम्म कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा युथ च्याम्पियनहरू सुस्मिता चालिसे, रुचि पटेल, अङ्गीकृत कर्ण, नवसिन तनवीर मिकरानी, आफ्ताब आलम, सुजीत गुप्ता, मुसाफिर गद्दी, पवनकुमार साह, प्रिन्सकुमार साह, राजन झालगायत विद्यार्थीहरूलाई लिङ्ग र लैङ्गिकताको भिन्नता, लिङ्गका प्रकार, प्रजनन स्वास्थ्य, महीनावारी सुरक्षालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रम विद्यालयका प्रतिनिधि राज महतोको अध्यक्षतामा भएको थियो ।