सामान्यतया माटो भन्नाले हामी जे बुझ्छौं, त्यो पहिलो बुझाइ हो । माटो त जमीन हो । जमीनसित माटोलाई जोड्ने हो भने अन्य अर्थ पनि निस्कन्छन् । माटोलाई भूमि मान्ने हो भने पनि करीब उही अर्थ आउँछ । तर सोझोरूपमा माटोले जे अर्थ बुझाउँछ, त्यो जमीनको माथिल्लो भाग हो । धेरैले माटोको सम्बन्ध कृषिसित जोडेर बोध गर्ने गरेका छन् । यसलाई अन्यथा लिन सकिन्न । अनेक अर्थमध्ये जुन बढी प्रयोग र प्रचलनमा हुन्छ, त्यसैलाई सर्वसाधारणले बढी बुझ्ने गर्छन् ।
यदि उब्जाउ हुने जमीनको दृष्टिकोणले हेर्ने हो भने जमीनको माथिल्लो भागको माटोलाई चार भागमा बाँडिएको पाइन्छ । सबैभन्दा राम्रो माटोलाई अब्बल भनिन्छ । सबैलाई अब्बलको अर्थ थाहै छ । जुन सबैभन्दा राम्रो छ वा सबैभन्दा उब्जाउ माटो छ, अब्बल भयो । दोस्रो दर्जाको उब्जाउ माटोलाई दोयम भनिन्छ । उब्जाउ नै हुन्छ तर पहिलो दर्जाको उब्जाउ माटोभन्दा केही कमजोर हुन्छ । बालीनाली राम्रो लाग्ने भएपनि माटोको तेस्रो प्रकारलाई सिम भनिन्छ । यसलाई कम उब्जाउ हुने जमीनको दोस्रो तह पनि भनिन्छ । धेरै उब्जाउ हुने जमीनको दृष्टिकोणमा तेस्रो र उब्जाउ नहुने जमीनको दृष्टिकोणले दोस्रो दर्जाको जमीन हो, सिम । उब्जाउको दृष्टिकोणले सबैभन्दा कमजोर जमीन चाहिं चाहार हो । यसलाई सबैभन्दा कमजोर जमीन मानिन्छ ।
माटोको मूल्यको सम्बन्धमा माटोमा फल्ने बालीको दृष्टिकोणले मात्र निर्धारण हुँदैन । एउटा उदाहरण रामायणको सन्दर्भमा पनि आउँछ । कतिपयले बारम्बार उल्लेख गर्ने गरेका छन् कि लङ्कामा जब रामले रावणमाथि विजय प्राप्त गरे, तब लक्ष्मणले लङ्काको भव्यतालाई हेरेर इच्छा व्यक्त गरे रे– लङ्काको राजा हुन पाए कति धेरै सम्पत्ति प्राप्त हुन सक्थ्यो । सुनको नगरी लङ्का आफैंमा निकै सम्पन्न थियो । लक्ष्मण सम्भवतः लोभिएका थिए तर रामले लक्ष्मणलाई सम्झाउनको लागि माटोको एक डल्ला देखाएर सोधे रे– जन्मभूमि अयोध्याको माटोको यो डल्लो र स्वर्ण नगरी लङ्कामा कुन चाहिं ठूलो हो ? अनि लक्ष्मणले दाजु रामको भावनालाई बुझेर उक्त इच्छा परित्याग गरेका थिए रे । अनि सम्झनुपर्ने यो पनि महŒवपूर्ण छ कि रामले लङ्कामाथि विजय प्राप्त गर्नुभन्दा पहिले नै लङ्काको राजाको रूपमा विभीषणलाई घोषणा गरिसकेका थिए ।
माटोको मूल्य सर्वसाधारण मानिसहरूमध्ये किसानलाई सबैभन्दा बढी थाहा हुन्छ । किसानलाई माटोसित खेल्ने पेशा पनि मानिएको छ । हरेक किसानलाई माटोको अवस्था पनि थाहा हुन्छ । माटो देखेर त्यसको अवस्था बुझ्न सक्ने क्षमता किसानमा हुन्छ भन्ने कुरो सबैले बुझेका छन् । किसानलाई माटोसित निकै नजीकको नाता मानिन्छ । किसानहरूले माटोको अध्ययन गरी वा माटोको अवस्था बुझेर कुन बाली लगाउने भन्ने निर्णय गर्छन् । कहिल्यै माटोको बारेमा बाह्य वा सैद्धान्तिक अध्ययन नगरी केवल व्यवहारकै कारण माटो र बालीको सम्बन्ध गाँस्ने काम किसानले नै गर्छन् । अनि किसानहरूले सोही माटोको अध्ययन गरी त्यहाँबाट मानिसको जीवनलाई जोगाउने अन्न उत्पादन गर्छन् ।
माटोले मानिसलाई जीवन दिन्छ । माटोमैं सबै कुरा ठडिएका छन् । जे जति ठूल्ठूला र अग्ला भवनहरू छन्, ती सबैको आधार नै माटो हो । माटोमैं सबै गाउँ र शहर बसेका छन् । माटोमा नै रूखबिरुवा र वनहरू उम्रिएका छन् । पहाड उभिएको पनि माटोमैं हो । नदीहरू दौडेको पनि माटोमैं हो र समुद्रले पनि गहिराइको आकार ग्रहण गरेको माटोमैं हो । एउटा उखान प्रचलनमा छ– कतनो चिरई उडे आकाश, फेर करे धरतीके आस (चरो जतिसुकै आकाशमा उडे पनि अन्ततः धरतीकै आस गर्छ) । यसरी माटोविना कुनै सभ्यताको कल्पना गर्न सकिन्न ।
यति हुँदाहुँदै पनि माटोको संरक्षण वर्तमानको आवश्यकता हो । माटोको संरक्षणको आवश्यकता किन परेको होला ? माटोलाई पनि खतरा छ र ? यदि यी प्रश्नको जवाफको खोजी गर्ने हो भने धेरै हदसम्म माटोको स्वास्थ्य र स्थितिबारे बुझ्न सकिन्छ । धेरैले भन्ने गरेका छन्, माटोलाई जचाएर बाली लगाउनुपर्छ । खेतमा जथाभावी मल हालेको कारण माटोको उब्जाउपनमा कमी आइरहेको छ । उब्जाउपनमा ¥हास आउनु भनेको माटोको गुणस्तर कमजोर हुनु हो । माटोको गुणस्तर कमजोर हुँदा माटोले दिने उत्पादनको गुणस्तरमा पनि कमी आउनुलाई स्वाभाविक मान्नुपर्छ । कतिपयले बेलाबेलामा यो उल्लेख गर्ने गरेको पाइन्छ कि कतिपय देशमा पूर्णतः अर्गानिक उत्पादन हुन्छ, मानिसलाई खानको लागि । अर्थात् मानिसले खाने अन्न, दाल र तरकारीको उत्पादनमा रासायनिक मल र विषादीको उपयोग गरिन्न । यो कहाँसम्म सत्य हो, आफ्नै ठाउँमा छ तर हाम्रो परिवेशमा भने पत्याउन अलिक सहज छैन । त्यस किसिमको उत्पादनलाई उपभोग गर्दा मानिसले जुन तŒव शरीरलाई प्राप्त हुनुपर्ने हो, सोही प्राप्त गर्छ । शरीरमा अनावश्यक तŒवहरू नजाँदा शरीरको प्रतिरोधक क्षमता बलियो हुन्छ । यसैले मानिसलाई धेरै किसिमको रोग लाग्न पाउँदैन । फेरि जब रासायनिक मल र विषादीको उपयोग खेतीबारीमा नगरिंदा वातावरणमा पनि यिनीहरूको प्रभाव रहँदैन । यसरी वातावरण, माटो र उत्पादन सबै अर्गानिक हुँदा मानिस दीर्घजीवी हुनु स्वाभाविक हो र मानिसलाई रोग नलाग्नु तथा स्वास्थ्योपचारमा लाग्ने खर्च कम हुनुलाई स्वाभाविक मान्न सकिन्छ । त्यस्ता देशका मानिसलाई निकै कम औषधिको सेवन गर्नुपर्छ रे ।
माटोको सम्बन्ध किसानसित मात्र हुने होइन रहेछ । मानिसले खाने अन्न र पर्यावरणसित हुने भएकाले माटोको संरक्षणको सरोकार साझा हुनुपर्छ । माटोलाई, माथिको सन्दर्भ अनुसार, रासायनिक मल र विषादीले प्रभावित पार्ने हुन्छ । तर यतिमात्र होइन, भूक्षय तथा मरुभूमीकरणले पनि माटोको गुणस्तरलाई प्रभाव पारिरहेका हुन्छन् । हाम्रो परिवेशमा विचार गर्ने हो भने वनजङ्गल कम हुँदै जानु तथा चुरेको जथाभावी दोहन अनि खोला र नदीको दुरुपयोगले पनि माटोलाई प्रभावित पारिरहेको छ । नदीजन्य पदार्थलाई जथाभावी निकालेर माटोको गुणस्तरलाई प्रभाव पारिरहेको कुरो पनि सुनिनमा आउँछ । साथै जथाभावी सडक निकाल्ने र ढलान गर्ने कार्यले पनि जमीनलाई प्रभाव पारिरहेको सुनिन्छ । प्लास्टिकको अनियन्त्रित प्रयोगले पनि जमीनलाई प्रभावित पारेको छ । अन्य कारण पनि होलान् । कुन कुन कारणले जमीन र माटोलाई कमजोर पारिएको छ, यसको अध्ययन हुनु जरुरी छ । अध्ययन हुनु जति आवश्यक छ, त्यसभन्दा बढी जरुरी चाहिं माटोको गुणस्तर कायम राख्न र माटोको गुणस्तरलाई बढाउनको लागि पनि सम्भव भएसम्म शीघ्र कदम चाल्नु आवश्यक देखिन्छ ।
माटोसित सर्वसाधारणको सरोकार हुनुपर्ने हो । माटोलाई जथाभावी उपयोग गर्न सकिन्छ भन्ने आम धारणा रहेको छ । माटो पनि सम्पत्ति हो र माटोरूपी सम्पत्तिको संरक्षण तथा सदुपयोग वर्तमान र भविष्य दुवैको लागि बहुमूल्य उपाय हो भन्ने चेतना व्यवहारमा कहीं कतै पनि देख्न पाइन्न । पहिले धर्मभीरुहरूले भन्ने गर्थे– पृथ्वीले सारा कुरा सहने गर्छिन् । तर अहिले यो देखिन थालिएको छ कि पृथ्वीको सहने क्षमता छ । माटोमा पनि जति सहने क्षमता छ, त्यत्ति मात्र सहन सम्भव छ । कतिपय अवस्थामा माटोले प्रदूषणको भार सहन सक्ने अवस्था छैन । मुख्यगरी शहरी प्रदूषण प्लास्टिकजन्य पदार्थको भार माटोले सहन नसकेर माटो र पानी तथा पानी र माटो प्रदूषित भइरहेको अवस्था देखिन्छ । अनि हरेक वर्ष कति लाख टन माटो बाढीको माध्यमले बहेर समुद्रसम्म पुगिरहेको छ ? एक दशक पहिले कति माटो समुद्रमा पुग्थ्यो र अहिले एक दशकपछि कति माटो पानीमा बगेर समुद्रमा पुगिरहेको छ ? पहिलेभन्दा अहिले कत्तिले फरक छ ? यसरी समुद्रमा माटो बगेर गइरहँदा हाम्रो माटोमा कुनै फरक परेको छ ? अनि समुद्रमा माटो बगेर जान दिनुभन्दा संरक्षण गर्नु आवश्यक छ ? कसरी गर्न सकिन्छ होला वर्षायाममा माटोको संरक्षण ? किन माटो सधैं बगेर जान दिने वा माटो बगेर जान दिने कि नदिने ? यी र यस्ता विषयको आवश्यकता तथा सान्दर्भिकताबारे हामी गम्भीर हुने कहिले ?
वास्तवमा माटोको संरक्षणबारे नीति निर्माताहरूको पनि ध्यानाकृष्ट हुनु आवश्यक छ । माटोलाई किसानको मात्र सम्पत्ति मानिनुहुन्न । माटो सबैको साझा सम्पत्ति हो, राष्ट्रको सम्पत्ति हो । माटोको संरक्षण र यसको गुणस्तरको विकासबारे सबै पक्ष संवेदनशील हुुनु आवश्यक छ । गम्भीर हुनु जरुरी छ ।