प्रस, पोखरिया, १८ मङ्सिर/
पर्सा जिल्लाका ग्रामीण क्षेत्रका पालिकाहरूका मावि तहका विद्यालयहरूमा विषयगत शिक्षकहरूको अभावले अध्यापनमा समस्या देखिएको छ ।
पालिकाहरूले आआफ्नो क्ष्Fेत्रका सामुदायिक विद्यालयहरूमा दरबन्दी अनुसार विषयगत शिक्षकहरूको व्यवस्थापन गर्ने कुरा गर्दै आए पनि अहिले शैक्षिक सत्र २०८१ को आठ महीना बित्न लागिसक्दा पनि विषयगत शिक्षकहरूको व्यवस्थापन नहुँदा थुप्रै विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
विषयगत शिक्षकहरूको अभाव रहेका माविहरूमा प्रावि, निमाविका शिक्षकहरूले कक्षा ९–१० का साथै कक्षा ११ र १२ का विद्यार्थीहरूलाई अध्यापन गराउने गरेकाले त्यस्ता विद्यालयहरूको नतीजा कमजोर देखिएको छ । खासगरी नेपाली, अङ्ग्रेजी, सामाजिक शिक्षा, लेखा, जनसङ्ख्या तथा वातावरण विषयका शिक्षकहरूको अभाव देखिएको छ र यी विषयहरूमा विद्यार्थीहरू कमजोर भएका धोबिनी गाउँपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका प्रधानाध्यापक विनय कुर्मी बताउँछन् । उनले आफ्नो विद्यालयमा मावि तहका नेपाली, विज्ञान, सामाजिक विषयका शिक्षक नभएका र प्रावि, निमावि तहका शिक्षकहरूबाट सो विषय विद्यार्थीहरूलाई अध्यापन गराउनुपरेको बताए । उनले कक्षा ९ र १० मा आफ्नो विद्यालयमा विषयगत शिक्षक नभएकाले एसइईमा सोही विषयमा कम अङ्क ल्याउने गरेको बताए । उनले पालिकाले पनि ध्यान नदिएको र सङ्घ सरकारले पनि नपठाएको अवस्थामा विद्यालयहरूबाट प्रतिफल मात्र खोजी गर्ने कार्य भइरहेकामा दुःखेसो पोखे ।
नेरामावि भिखमपुर सरहको अवस्था विन्ध्यवासिनी गापा–३ मा रहेका रामस्वरूप रामप्रीत चौरसिया मावि झौवा र राधाकृष्ण चौरसिया मावि बहुअर्वाभाठामा छ । झौवामा नेपाली, सामाजिक विषयका शिक्षक छैनन् भने बहुअर्वाभाठामा नेपाली र अङ्ग्रेजी विषयका शिक्षकको अभाव छ । यो पालिकाका प्रमुख पूर्वप्रधानाध्यापक हुन् । शिक्षण पेशाबाट गापा प्रमुख भएका प्रमोद तिवारीले आफ्नो पालिकाका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकहरूको व्यवस्थापन गर्न सकेका छैनन् ।
विषयगत शिक्षकको समस्या पर्सा जिल्लाका १४ वटै पालिकामा छ । वीरगंज महानगरपालिका–१६ नगवास्थित विद्यालयमा भर्खरै विषयगत शिक्षक अभाव भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । विद्यार्थीहरूको प्रदर्शनपछि निजी स्रोतमा शिक्षक नियुक्त गरिएको थियो । अन्य पालिकाहरूमा पनि विद्यार्थीहरूले बेलाबखत विषयगत शिक्षकहरूको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।