प्रस, वीरगंज, १७ मङ्सिर/
बहुदरमाई नगरपालिकाको बहुअरी गाउँनजीक रहेको गण्डक नहरको तिलावे पुल भत्केको ६ महीना बितिसक्दा पनि पुल निर्माणमा चासो देखाइएको छैन । पुल भत्किएको कारण अहिले आवतजावतमा समस्या भएको छ । अहिले चीसोमा खोला तरेर आवतजावत गर्न स्थानीयलाई समस्या भएको छ भने वर्षायाममा बाढीले पानीको सतह बढेर आवतजावत नै ठप्प हुन्छ ।
गण्डक नहर अन्तर्गतको यो पुल नहर निर्माणको क्रममा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । गण्डक सिंचाइ नहरका लागि निर्माण गरिएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो । नितान्त गण्डक नहरको मर्मतसम्भार लगायतका कार्यको लागि गण्डक नहरछेउमा सडक र पुल निर्माण गरिए पनि पर्सा जिल्लाका बझियान र थरुहट सडक निर्माण नभएको समयमा यही सडक भएर सबै खाले सवारीसाधन सञ्चालन हुन्थ्यो । पुल भत्केको कारण अहिले तिलावे नदीमा डाइभर्सन बनाइ आवतजावत सुचारु गरिएको छ । तर बर्खायाममा डाइभर्सनले काम गर्ला जस्तो देखिन्न ।
सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका प्रमुख मनोज पटेलले राजनीतिक दलहरूको पहलमा तिलावे नदीमा रहेको गण्डक पुलको निर्माण सडक विभागले गर्ने सुनेको बताए । उनले यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी नभएको बताए । प्रमुख पटेलले पुल भत्किएकोबारे विभाग र मन्त्रालयलाई अवगत गराएको तर त्यहाँबाट पनि अहिलेसम्म पुल निर्माणका लागि कुनै जानकारी नआइसकेको बताए ।
बहुदरमाई नपाका प्रमुख सिंगासन साह तेलीले नपासँग पुल बनाउने सामथ्र्य नरहेको बताए । करोडौं खर्च धान्न सक्ने अवस्था छैन, त्यसैले यसमा सम्बन्धित निकाय, प्रदेश र सङ्घ सरकारको चासो जानुपर्ने नगरप्रमुख तेली बताउँछन् । पुलको अवस्था कमजोर भएदेखि नै प्रदेश र सङ्घीय सांसदहरू, मन्त्रीहरूले स्थलगत निरीक्षण गरिसकेका छन् । तर पुल कसले र कहिले बनाउने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लगाउन नसकेको स्थानीयहरू बताउँछन् ।