प्रस, वीरगंज, १७ मङ्सिर/
उपकार सेवा नेपालले पटेर्वासुगौली गाउँपालिका–१ भाठाधामस्थित दुग्धेश्वरनाथ मन्दिर परिसरमा पाँच थान चापाकल जडान गरेको छ । उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले सोमवार सो स्थानमा जडान गरिएका पाँच थान चापाकल मेला समितिका अध्यक्ष अलखदेव महतो थारू र कोषाध्यक्ष रामेश्वर राउत थारूलाई हस्तान्तरण गरेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए ।
दुग्धेश्वरनाथ मन्दिर भाठाधाममा वार्षिक चारपटक मेला लाग्ने गरेको छ । विभिन्न समयमा वार्षिक तीनपटक र साउनमा एक महीने मेला गरी चारपटक लाग्ने मेला भर्नका लागि नेपाल र भारतबाट लाखौंको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । मेला भर्न आउने भक्तजनहरूलाई पिउने पानीको समस्या नहोस् भनी उपकार सेवा नेपालले चापाकल जडान गरी सहयोग गरेको अध्यक्ष सरावगीले बताइन् ।
कार्यक्रममा समितिका अध्यक्ष थारूले अध्यक्ष सरावगीलाई पिउने पानीको समस्या समाधानमा सहयोग गरेकोमा दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा उपकार सेवा नेपालका सदस्यद्वय सुमन बगेडिया, अङ्कुर शर्मालगायतको सहभागिता थियो ।