प्रस, वीरगंज, १३ मङ्सिर/
बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ मा जिनाद बाबाको दुई दिने मेला बिहीवारदेखि शुरू भएको छ । आज र भोलिसम्म सञ्चालन हुने दुई दिने जिनाद बाबाको मेलाको नेपाली काङ्ग्रेस, बाराका क्षेत्रीय सभापति लोकेश सिंहले उद्घाटन गरेका थिए । उनले जिनाद बाबाको मेला आफ्नो पहलमा एक दशकदेखि हुँदै आएको र यसलाई निरन्तरता प्रदान गरिने बताए । नेता सिंहले सन्तान नभएका दम्पतीहरू जिनाद बाबाको मेलामा आउने र भाकल पूरा हुने जनविश्वास रहेको बताए ।
मेला समितिका अध्यक्ष केदार साहले नेपाल र भारतबाट मेला भर्न ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेको बताए । दुई दिने मेलामा २० हजार बढी भक्तजन आउने गरेको उनले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश भट्ट, शिक्षक श्रीलाल साह, वीरेन्द्र साह, जादो साह, बम यादव, गौरीशङ्कर साह, बिगा चौरसियालगायतको सहभागिता थियो ।