प्रस, जीतपुर, १३ मङ्सिर/
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको समन्वयमा जीतपुर बजारमा बिहीवार नापतौैल शिविरको आयोजना गरिएको थियो ।

नापतौल तथा गुणस्तर कार्यालयबाट खटिएका कर्मचारीहरूद्वारा जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परीक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिविरको आयोजना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले बताए ।

उनले मङ्गलवारदेखि जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घको कार्यालय जीतपुरमा शिविर सञ्चालन गरिएको बताए । हिजो बुधवार र आज बिहीवार सिमरास्थित आन्तरिक राजस्व कार्यालयसँगै रहेको उद्योग वाणिज्य सङ्घको सेवा केन्द्रमा शिविर सञ्चालन भएको र शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित वडा कार्यालय र शनिवार जीतपुरसिमरा–२१ अमलेखगंजस्थित वडा कार्यालयमा नापतौल सामग्री जाँचका लागि घुम्ती शिविर सञ्चालन हुने जानकारी गराए ।

उपाध्यक्ष गुप्ताका अनुसार जीतपुरसिमराका व्यवसायीहरूलाई वीरगंजसम्म आएर सेवा लिन समस्या भएकोले नापतौल कार्यालय, वीरगंजसँग समन्वय गरी शिविर सञ्चालन गरिएको बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुर, सिमरा, डुमरवाना र अमलेखगंज क्षेत्रका व्यवसायीहरूलाई शिविरमा सहभागि भएर नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गरे । नापतौल सामग्रीको अनुगमनका क्रममा हुने कारबाहीबाट बच्नसमेत नापतौलका सामग्री अद्यावधिक आवश्यक रहेको भन्दै अध्यक्ष शर्माले शिविरको फाइदा उठाउन आग्रह गरेका थिए ।

नापतौल सामग्रीको जाँच शिविरमा उद्योग वाणिज्य सङ्घले व्यवसायी प्रमाणपत्रसमेत नवीकरण गर्ने सुविधा उपलब्ध गराएको कोषाध्यक्ष रामबाबू कलवारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here