प्रस, वीरगंज, १२ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एकाध दिनमैं महानगरले किसानहरूलाई सहुलियत दरमा बीउ उपलब्ध गराउने बताएका छन् ।
महानगरपालिका कार्यालयले गहुँखेतीका लागि सहुलियतमा प्रदान गर्दै आएको गहुँको बीउ वितरणमा ढिला गरेको भन्ने किसानहरूको गुनासोबारे प्रतिक्रिया दिंदै नगरप्रमुख सिंहले प्रमुख प्रशाकीय अधिकृत नभएका कारण आर्थिक कारोबारमा समस्या भएपनि किसानहरूलाई शुक्रवारसम्म गहुँको बीउ सहुलियतमा उपलब्ध गराउने गरी काम अघि बढिसकेको बताए । खरीद प्रक्रिया शुरू छ आजभोलिमा किसानहरूले सहुलियतमा गहुँको बीउ पाउँछन्, उनले भने ।
यता पर्सा जिल्लाका केही पालिकाहरूले पनि सहुलियतमा गहुँको बीउ वितरण शुरू गरेका छैनन् । धान कटानीसँगै किसानहरू गहुँखेतीतर्फ लाग्ने गर्छन् । केही किसानहरूले भने सहुलियतमा प्रदान गरिने गहुँको बीउ कमसल हुने भएकोले उत्पादन नबढ्ने भन्दै छिमेकी भारतीय बजारबाट बीउ खरीद गरेर छर्ने कार्य शुरू गरिसकेका छन् ।
गत शुक्रवारदेखि केही पालिकाहरूले सहुलियतमा गहुँको बीउ वितरण शुरू गरेको बताइन्छ । परल मूल्यको आधामा पालिकाहरूले गहुँलगायतका मौसमी बालीका बीउ किसानहरूलाई उपलब्ध गराउँदै आएका छन् ।