प्रस, जनकपुर, ८ मङ्सिर/
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, बर्दिवासको टोलीले जलेश्वर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई घूसको रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।
निज यादवले सवारी ज्यान मुद्दामा मृतकको नजीकका हकदारले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्तिबापतको रकमका लागि रु २० हजार घूस मागेको र सो रकम शुक्रवार पीडित पक्षबाट बुझेपछि उनलाई अख्तियारले पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।
मृतकको काजकिरिया र क्षतिपूर्तिबापतको रकम लिनका लागि यादवले शुरूमा पीडितलाई एक महीनादेखि आजभोलि भन्दै हैरान पारेका थिए । हिजो उनले बिचौलियामार्फत २० हजार माग गरेपछि पीडितले अख्तियारको कार्यालय बर्दिवासमा उजूरी गरेको थियो । अख्तियारले पीडितलाई घूसबापतको रकम उपलब्ध गराएर नायब सुब्बा यादवलाई दिन लगाएको थियो र रकम बुझेसँगै पक्राउ परेका थिए ।