प्रस, वीरगंज, ७ मङसिर/
बाराको महानगढीमाई नगरपालिकाको बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा मन्दिर क्षेत्रमा विनाइजाजत ड्रोन उडाउन र हातहतियार, चक्कु जस्ता वस्तुको प्रयोगमा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाराले शुक्रवार सूचना जारी गर्दै मेला अवधिभरि सो क्षेत्रमा विनाइजाजत कुनै किसिमको ड्रोन क्यामराको प्रयोग गरिए कानूनबमोजिम दण्डित हुनुपर्ने जनाएको छ ।
प्रजिअ वसन्त अधिकारीले सूचनामार्फत त्यस्तो कार्यका लागि अनिवार्यरूपमा अनुमति लिनुपर्ने
र अनुमतिबेगर हुने कार्यको भागीदारले सजाय पाउने जानकारी गराएका छन् ।
सूचनामा ड्रोन जडित मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन क्यामरा उडान गर्ने सक्ने प्रावधान रहेको उल्लेख छ ।
यस वर्षको पञ्चवर्षीय गढीमाई मेला यही मङ्सिर १ गतेदेखि शुरू भएको छ । एक महीनासम्म सञ्चालन हुने मेलामा सबैभन्दा बढी भीड बलिदानीको दिन हुने गर्छ । यसपटक मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायत पशुपक्षीको बलिको मिति तोकिएको छ ।