प्रस, निजगढ, ७ मङ्सिर/
निजगढ नगरपालिकास्थित बकैया खोलाबाट अवैध उत्खनन गरी ल्याइएका ढुुङ्गालाई कानूनी दायरामा ल्याउने जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुुमार साहले बताएका छन् ।

मोहोरीस्थित बकैया खोलाबाट ढुङ्गा चोरी तस्करी, वन डिभिजन, निजगढ नपासहित नेपाली सेना पनि मौन शीर्षकमा बिहीवार प्रतीक दैनिकमा प्रकाशित समाचारबाट ध्यानाकर्षण भएसँगै जिल्ला समन्वय समिति बाराका प्रमुख साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजनल वन अधिकृत राजीवकुमार झा, जिल्लास्थित सुुरक्षा निकाय प्रमुखसहितको टोलीले शुक्रवार अवैधरूपमा ढुङ्गा थुपारिएको स्थान र क्रसर उद्योगको अनुुगमन गरेको थियो ।

गैरकानूनीरूपमा उत्खनन गरी ढुङ्गा सङ्कलन गर्दा पनि निजगढ नगरपालिकाले नियन्त्रणतर्फ चासो नदेखाउँदा अवैध धन्दा गर्नेहरूको मनोबल बढेको थियो । अवैध कार्यलाई रोक्नु स्थानीय तहको दायित्व रहेको बताउँदै कानुनी दायरामा ल्याउने जिसस प्रमुख साहले बताए ।

प्राकृतिक स्रोत साधनको चरम दोहन गरिएको पाइएको उनले प्रतिक्रिया दिए । खोलाबगर आसपास र अन्य स्थानमा थुपारिएका अवैध ढुङ्गाको अनुगमनपछि गैरकानूनी ढङ्गले थुपारिएका ढुङ्गा सङ्कलन गर्ने, गराउने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

प्राकृतिक स्रोत साधन नदीजन्य पदार्थ गैरकानूनीरूपमा ल्याउने कार्य अविलम्ब बन्द गराउन सुुरक्षा निकायलाई निर्देशन दिने प्रजिअ अधिकारीले बताए । अनुगमनकै क्रममा बकैया खोलाको ठेक्का लिएको जीतपुरसिमरा उपमहानगरपालिका–१ का जयगणेश सप्लायर्सले ठेक्काको पुर्जी काट्ने स्थान बकैया पुलमा पुगी इमानदारीका साथ दैनिक रसिद काट्न ठेकेदारहरूलाई निर्देशन दिएका थिए । उनले तोकिएको परिमाण पुग्ने बित्तिकै खोला सिल गर्ने बताए ।

गत कात्तिक ९ गते मापदण्डभित्र रही वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको परिमाण र स्थानबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न निजगढ नपाबाट सम्झौता भएपछि अनुमति पाएको हो । अनुमति पाएको ठेकेदार कम्पनीले कात्तिक २२ गते छठ पर्वपछि खोलामा मापदण्डले तोकेको स्थानमा उत्खनन कार्य शुरू गरेको छ । तर दुई साता पनि नबित्दै दुई हजार पाँच सय घनमिटर अर्थात् सात हजार ट्याक्टरभन्दा बढी ढुङ्गा अवैधरूपमा खोलाबाट ल्याइ थुपारिएको अनुमान छ ।

ठेकेदारले खोलामा उत्खनन शुरू गर्नु अघि नै थुपारिएका ढुङ्गाहरू कानूनीरूपमा अवैध हुन् । वनजङ्गल क्षेत्रलाई हानिनोक्सानी हुुनेगरी चुरे क्षेत्र र चुुरे संरक्षित क्षेत्रको खोलाबाट समेत अवैधरूपमा ढुङ्गा सङ्कलन गर्ने गरेका छन् ।

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खड्का, सशस्त्र प्रहरी बल, बाराका प्रमुख सन्तोषबहादुुर सिंह, इप्रका निजगढका प्रमुख सुमित कुुशवाहा, सशस्त्र प्रहरी निजगढ, निजगढ नपा राजस्व शाखा प्रमख दिनेश श्रेष्ठ, वन वातावरण शाखा प्रमुख सहायक वन अधिकृत अनिल कोइराला, सबइन्जिनीयर नवीन खनाललगायतले अवैधरूपमा ढुङ्गा थुपारिएको स्थानको अनुगमन निरीक्षण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here