नेपालका वामपन्थी दलका नेताहरू आफूलाई जतिसुकै माक्र्स, लेनिन र माओका अनुयायी बताए पनि यथार्थमा यिनीहरू पद, सत्ता र सुखसुविधाका लोभीहरू हुन् । यिनका खाने दाँत र देखाउने दाँत फरकफरक छन् । व्यवहारमा यिनीहरूले सामन्ती र निरङ्कुश व्यवहारको अनुसरण गरिसकेका छन् । सत्ताविना बाँच्न नसक्ने रोगबाट ग्रसित नेपालका वामपन्थीहरू सत्तामा पुगेपछि त झन् विलासी जीवनशैलीको आनन्द लिइरहेका छन् । अन्य दलका नेताहरू लोकतन्त्रवादी कित्ताका नेताहरूलाई दलाल पूँजीवादको समर्थक बताउने नेपाली वामपन्थीहरू स्वयम् पनि अर्धलोकतन्त्र र अर्धवामपन्थको चरित्र बोकी हिंडेका छन् । आवश्यकता परेको बेलामा आफूलाई वामपन्थी कित्तामा उभ्याउने र अमेरिका तथा पश्चिमाहरू सामु आफूलाई लोकतन्त्रवादी कित्तामा उभ्याउँदै आएका छन् । यिनीहरू निकै कमजोर सैद्धान्तिक र वैचारिक धरातलमा उभिएका छन् । नेपालको वामपन्थी दलका शीर्ष नेताहरूको विलासितापूर्ण जीवनशैलीलाई हेरेर यिनका समर्थकहरू पनि आफू कम्युनिस्ट भएकोमा सङ्कोच गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएपछि यिनको जीवनशैली नेपाल र नेपालबाहिर पनि चर्चाको विषय बनेको थियो । खासगरी पुष्पकमल दाहाल प्रचण्डले महँगो नाडी घडी लगाएर निकै महँगो ओछ्यानमा सुतेको विषयले चर्चा पाएको थियो । एउटा अन्तर्वार्तामा उनले बहुसङ्ख्यक नेपाली जनताले दुई छाक खानाको प्रबन्ध गर्न नसक्ने देशमा आफूले मांसाहारी खाजा र शाकाहारी खाना रुचाउने गरेको बताएका थिए । नयाँ नेपाल बनाउने, देशका आदिवासी जनजाति, महिला, दलित, गरीब र उपेक्षित वर्गका समस्याको समाधान गर्ने, तिनका जीवनस्तरमा सुधार ल्याउने र सबैलाई अधिकारको प्रत्याभूति दिएर एक दशकसम्म सशस्त्र सङ्घर्ष गर्न उद्वेलित गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटकपटक प्रधानमन्त्री बनिसक्दा पनि समस्या ज्यूँका त्यूँ नै छन् । देशमा रोजगार नपाउँदा करीब १० लाख नेपाली युवा विदेशमा गएर जोखिमपूर्ण कामहरू गरिरहेका छन् । के देशमा युवाले यिनै परिस्थितिको सामना गर्न एक दशकसम्म हतियार उठाइ जङ्गल प्रवेश गरेका थिए त ? सयकडौं नेपाली कम्युनिस्ट करोडपति र अर्बपति बनिसकेका छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले तीन करोड रुपैयाँको घडी र महँगो ब्रान्डेड जुत्ता लगाएको विषय निकै चर्चामा छ । ओलीको जीवनशैली कम्युनिस्टहरूको जस्तो सरल छैन ।
व्यक्तिगतरूपमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध ठूलाठूला व्याख्यान दिए पनि उनको पार्टी अप्रत्यक्षरूपमा भ्रष्टाचारमा संलग्न छ । नेकपा एमालेमा पनि भ्रष्टाचारीहरू निकै सङ्ख्यामा रहेको आरोपको जवाफमा उनले ती भ्रष्ट नेताहरूको अनुहार आफूले कहिल्यै नहेरेको जवाफ दिएका थिए । पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि लाग्ने गरेका कुनै पनि किसिमका आरोपको जोडदाररूपमा बचाउ गर्दै आएका छन् । कटाक्षपूर्ण आरोप लगाएर विपक्षीहरूलाई चुप लगाउने तर आफूमाथि लागेको आरोपको कठोर प्रतिकार गर्ने कलामा उनी माहिर छन् । तर भनिन्छ अत्यक्षलाई प्रमाणको आवश्यकता पर्दैन । यस्तै एउटा घटनामा नेकपा एमाले आलोचित भइरहेको छ ।
ललिता निवासको सरकारी जग्गा नक्कली कागजपत्र बनाएर कब्जा गरेको अभियोगमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उनले केही महीना न्यायिक हिरासतमा पनि बिताएका थिए । सोही व्यक्तिले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि करीब ११ रोपनी जग्गा दान गरेका थिए । जग्गा मात्र होइन, गुरुङले आफ्नो खर्चमा एमालेका लागि अत्याधुनिक सुविधासम्पन्न भवन पनि निर्माण गर्दैछन् र एक वर्षमा पार्टीलाई हस्तान्तरण गरिने विषय पनि चर्चामा आएको छ । कीर्तिपुरको भीमनगरमा एमालेको पार्टी कार्यालयको शिलान्यास गरिएको छ । गुरुङले दान गरेको जग्गाको अनुमानित मूल्य प्रतिआना ४० लाख रुपैयाँ रहेको छ । कुनै पनि व्यापारीले कुनै स्वार्थविना कसैलाई यत्रो ठूलो दान दिन सक्दैन । त्यसमा पनि किर्ते गरेर ललिता निवासको जग्गा कब्जा गर्ने व्यक्ति रातारात वाल्मीकि बन्ने विश्वास गर्न सकिंदैन । गुरुङ पनि व्यवसायी हुन् र विनानाफा उनले एक सुका पनि खर्च गर्न सक्दैनन् । उनले विना खुलासा सम्झौता एमालेलाई पक्कै चन्दा दिएनन् । बालुवाटारस्थित ललिता निवासको सरकारी सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ ।
भनिन्छ, गुरुङले अहिले पनि ललिता निवासमा भएको निर्माणलाई भाटभटेनी सुपरमार्केटको भण्डारको रूपमा प्रयोग गर्दै आएका छन् । एक विवादास्पद र राज्यद्वारा आरोपी व्यापारीको दान दातव्यमा सत्ताधारी पार्टीको कार्यालय निर्माण हुनु र त्यसको शिलान्यास स्वयम् प्रधानमन्त्रीको करकमलबाट हुनु दुर्भाग्यपूर्ण हो । नेकपा एमालेले यसको जतिसुकै बचाउ गरे पनि यसको बचाउ हुन सक्दैन । गुरुङले विना कुनै स्वार्थ प्रधानमन्त्रीको पार्टीलाई यति ठूलो सहयोग किन गर्ने ?
नेकपा एमालेको शब्दकोष, व्याकरण र भाषा बेग्लै किसिमको हुने गर्छ । आजभन्दा दुई/तीन दशक अघि लाउडा एयरको विमान प्रकरणमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै सडकमा आएको एमालेले चाइना साउथ वेस्ट प्रकरणमा आफ्नो पार्टीका नेता भीम रावलको नाम आउँदा सार्वजनिक लेखा समितिको ठहरलाई समेत झूटो ठह¥याइ पार्टीको पोलिट ब्युरोले दिएको सफाइलाई नै अन्तिम सत्य मान्यो । जबकि संसद्को सार्वजनिक लेखा समितिका सभापति पनि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ थिए । जो अहिले दिवङ्गत भइसकेका छन् । हाल यताका केही वर्षहरूमा पनि यति, गिरिबन्धु टी इस्टेट, ओम्नी, ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस आदि भ्रष्टाचार र अनियमितताहरूमा एमालेका नेताको नाम पनि प्रमुखताका साथ आएको छ तर एमालेले कहिलै आफ्नो गलती मानेको छैन । अहिले पनि आफ्ना नेताहरूको बचाउ गर्दै आएको छ ।
हालका दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अयोग्य लडाकूहरूका लागि निकासा गरिएको रकममा भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । माक्र्सवाद, लेनिनवाद र माओवादका कुरा गर्ने नेपालका वामपन्थी नेताहरूले आर्थिक उदारवाद र निजीकरणको नीतिलाई आत्मसात् गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र बैंकलाई निजीकरण गरेका छन् । पार्टीमा ठेकेदार, तस्कर, अपराधी, सामन्त र शोषकलाई नेता बनाउने अभियानले महŒव पाएको छ । यस्तोमा केको सर्वहारा, मजदरुर र गरीब ? यिनका समर्थकहरू केवल रातो कपडामा हसिया हतौडाको फोटोलाई नै कम्युनिस्ट भएको ठान्छन् भने नेपाली अनुयायीहरूप्रति केवल दयाभाव मात्र देखाउन सकिन्छ ।