नरेश यादव, पर्सागढी, ६ मङ्सिर/
‘सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमीन किसानलाई’ नाराका साथ पर्सागढी नगरपालिकामा सङ्गठन एवं अभियान सुदृढीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला भूमि अधिकार मञ्चको आयोजना तथा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, आत्मनिर्भर सेवा केन्द्र र राष्ट्रिय भूमि सञ्जालको सहकार्यमा पर्सागढी नपा–३ मा आयोजित अभिमुखीकरण कार्यक्रममा नगरप्रमुुख गोकर्ण पाठकले राष्ट्रिय भूमि अधिकार मञ्च सुरक्षित घरबास र खेतीयोग्य जमीन नभएका जनतालाई सरकारबाट जमीन उपलब्ध गराउनका लागि पहल गरिदिने संस्था भएको बताए ।
उनले आम मानिसको कुरालाई यो संस्थाले सरकारसमक्ष पु¥याउने काम गर्दै आएको बताए । उनले पछिल्लो समयमा यो संस्था नेपालको संविधान २०७२ जारी भएपछि अस्तित्वमा आएको बताए । नगरप्रमुख पाठकले भूमिहीनहरूको लागि भूमि व्यवस्थापन गर्ने उद्देश्यले बनेका भूमि आयोगहरू थुप्रैपटक बनेका तर काम भने गर्न नसकेको गुनासो पोखे । उनले पर्सागढीमा भूमिहीनहरूको सङ्ख्या बढी भएको र अहिलेसम्म नापजोख गर्ने, गुठीको जग्गा वितरण गर्ने अधिकार नभएको कुरा गर्ने जस्ता कार्यहरू मात्र भएको र वास्तविक सुकुमबासीहरूलाई पुर्जा दिने कार्यबाट वञ्चित पारिएको आरोप लगाए । यो समस्याको समाधान सरकारले चाँडो गर्नुपर्ने उनले सुझाए । जग्गामा बसोबास छ तर कागजपत्र छैन, यसको स्थायी समाधान हुनुपर्ने उनको जिकिर थियो ।
वडाध्यक्ष सुकमान तामाङले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यो समस्याबारे आफैं गएर जानकारी गराएको र ज्ञापनपत्र बुझाएको बताए । समस्या समाधान गर्नेगरी कुनै पनि सरकारले काम नगरेको उनको आरोप थियो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा सङ्गठन विकास, संस्था नवीकरण, सदस्यता वितरण, विगतका आयोगका लगत सङ्कलन, जग्गा नापजाँच र सहजीकरण भूमिकामा थप उत्साह हौसला प्रदान गर्ने, हाल भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले प्रकाशन गरेको कार्यदिशाबारे जानकारी गराइ उनीहरूको सवाल र यस अघि भएका ज्ञान, सीप, क्षमता वृद्धि गराउने जस्ता विषयमा राष्ट्रिय भूमि अधिकार मञ्चका कोषाध्यक्ष पार्वती धामी र प्रदेश सचिव अनुप माझीले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा पर्सागढी, ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापाबाट भूमिहीनहरूको सहभागिता छ । जिल्ला अध्यक्ष सञ्जय पहरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बिन्दु श्रेष्ठ, प्रदेश उपाध्यक्ष सीता लामालगायतको सहभागिता छ । कार्यक्रमको सहजीकरण पूर्वअध्यक्ष दीपेश नेपालले गरेका थिए ।