प्रस, वीरगंज, २१ पुस/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले यस वर्ष पनि मोतीबिन्दुका बिरामीहरूको निश्शुल्क शल्यक्रिया गराउँदै आएका छन्।
गत वर्ष माट्रिका आई फाउन्डेशन र किरण आँखा अस्पतालको सहकार्यमा २५ सय मोतीबिन्दु रोगीको निश्शुल्क शल्यक्रिया गराएका नगरप्रमुख सरावगीले यसपटक पुनः सोही अभियान अन्तर्गत अहिलेसम्म १९ सयजनाको मोतीबिन्दुको शल्यक्रिया गराइसकेका छन् र यसलाई निरन्तरता दिएर ५ हजार पु–याउने लक्ष्य रहेको उनले बताए।
गत वर्ष नगरप्रमुख सरावगीले पर्सा जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी मोतीबिन्दु भएका व्यक्तिहरूलाई वीरगंजमा ल्याउने, बसाउने, खुवाउने र पु–याउने जिम्मेवारी वहन गरेका थिए भने माट्रिका आई फाउन्डेशन र किरण आँखा अस्पतालले उनीहरूको शल्यक्रिया गरेका थिए।
यसपटक कोरोना सङ्क्रमणको कारण शिविर सञ्चालन गरेर बिरामीहरूको पहिचान गर्ने र उनीहरू आपंैm आएर शल्यक्रिया गराउँदैछन्। यसमा नगरप्रमुख सरावगीले शिविर सञ्चालन, औषधि तथा शल्यक्रियामा लाग्ने खर्च बेहोर्दै आएका छन्। यसपटक अहिलेसम्म फाउन्डेशनको सहकार्यमा पर्सा जिल्लाका २७ वटा स्थानमा शिविर सञ्चालन गरी ३ हजार ७८० जनाको परीक्षण गरिएको र सोमध्ये मोतीबिन्दु भएका १९ सय १५ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए।
धामीले बहुदरमाई, पर्सागढी, बैरियाबिर्ता, ठोरी, श्रीपुर पंचगावाँ, नौकाटोल, गम्हरिया, जगरनाथपुर, जीराभवानी, धोबिनी, छिपहरमाई, बागेश्वरी तित्रौनालगायतका स्थानमा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको पहिचान गरी उनीहरूको शल्यक्रिया गरेको बताए। फेको प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया गरी लेन्स लगाउने कार्य दैनिक भइरहेको धामीले जानकारी गराए।
कोरोना सङ्क्रमणको कारण यसपटक दैनिक ३० भन्दा बढी मोतीबिन्दुको शल्यक्रिया नगरिएको उनले बताए। गत वर्ष एकै दिन १५० जनाको शल्यक्रिया गरिएको थियो। अहिले बिरामीहरू आउने र एकै दिनमा शल्यक्रिया गराएर फर्किने गरेका छन्। नगरप्रमुखको यो अभियानमा अहिले सम्बन्धित महानगरका वडाध्यक्षहरू, गापाका जनप्रतिनिधिहरू र सामाजिक तथा राजनीतिक कार्यकर्ताहरूले बिरामीहरूलाई ल्याउने, लैजाने, बसाउने, खुवाउने जस्ता कार्यमा सघाउँदै आएका छन्।
विशुद्धरूपमा समाजसेवी काम भएकोले यो अभियानमा सबैजनाको सहकार्य बढेको छ। गत वर्ष मोतीबिन्दुको शल्यक्रियाले निकै चर्चा पाएपछि यस वर्ष सबै व्यक्ति मोतीबिन्दु बिरामीहरूको उपचारमा जुटेका छन्।
गरीब, दीनदुःखीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरेको नगरप्रमुख सरावगीले बताए। आफ्नो सामथ्र्यले मोतीबिन्दुको शल्यक्रिया गर्न नसकी पीडा भोग्दै आएका व्यक्तिहरू शल्यक्रियापछि खुशी भएर फर्कने गरेको फाउन्डेशनका धामीले बताए। कसै–कसैको दुवै आँखामा मोतीबिन्दु भएको र अहिले हेर्न पाएपछि खुशी भएको उनले बताए। मोतीबिन्दुको कारण आँखा देख्न छाडेका परिवारका वृद्धवृद्धाहरू अपहेलित हुने गरेका र शल्यक्रियापछि हेर्न थालेपछि परिवारबाट पनि माया, ममता पाइरहेको धामीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here