प्रस, पोखरिया, ५ मङ्सिर/
विन्ध्यवासिनी गाउँपालिका–३ झौवाबाट सशस्त्र र जनपद प्रहरीले १८ क्वीन्टलबराबर १०२ बोरा चाइनिज लसुन बरामद गरेको छ । भारततर्फ तस्करीको माध्यमबाट लैजानका लागि सीमानाकामा पर्ने झौवास्थित योगेन्द्र दास तत्वाको कुखुरा फार्ममा भण्डारण गरेर राखिएको अवस्थामा चाइनिज लसुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले १०२ बोरा १७ क्वीन्टल ८० किलोग्राम लसुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । उनले बरामद लसुनको बजार मूल्य चार लाख ८० हजार रहेको बताए ।
प्रहरीले उक्त लसुन तत्वाको कुखुरा फार्मबाट बरामद गरेको भएपनि प्रवक्ता भारतीले भने लसुन बरामद भएको कुखुरा फार्मका धनीको नाम खुल्न नसकेको बताए । बरामद लसुन वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।