प्रस, परवानीपुर, ४ मङ्सिर/
पशुबलिका लागि विश्वमा प्रसिद्ध बारा जिल्ला महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मेलामा यस वर्ष ११ हजारभन्दा बढी राँगाको बलि चढ्ने अनुमान गरिएको छ । मेला समिति मातहतको बलि व्यवस्थापन उपसमितिका संयोजक प्रेमप्रसाद साहले प्रत्येक पाँच वर्षमा लाग्ने गरेको गढीमाई मेलामा यस वर्ष ११ हजारभन्दा बढी राँगाको बलि चढ्ने बताए । उनले यस अघिको मेला २०७६ सालमा करीब १० हजार राँगाको बलि चढेको र यो वर्षको मेलामा सोभन्दा बढी बलि चढ्ने दाबी गरे । उनले ११ हजार राँगाको बलि चढ्ने अनुमान गरिए अनुसार तयारी थालिएको बताएका छन् ।

मन्दिरको पूर्वपट्टि रहेको कम्पाउन्डमा उचाइ अनुसारका चारवटा समूह बनाएर राँगाहरूलाई आहार खुवाउने, पानी पिलाउने र बलि दिइने राँगाको आवश्यक व्यवस्थापन गरिएको बताए । सोको लागि अहिले बाँसको घेरा लगाउने कार्य भइरहेको उनले बताए ।

उनले बलिप्रथा रोक्न विभिन्न पशु अधिकारकर्मीले विरोध गरेको प्रश्नमा यो आस्था र परम्परासँग जोडिएकोले यस विषयमा आफूले केही बोल्न नमिल्ने बताए । उनले पशुबलि सकिएपछि फोहोरमैला र सिनो व्यवस्थापनको लागि भेटेरिनरी चिकित्सकहरूको टीमको सुझावमा व्यवस्थापनको काम गरिने बताए । मेलापछि पशुबलिका कारण मेला वरपरका ठाउँ दुर्गन्धित नहुनेगरी व्यवस्था मिलाइएको बताए ।

उनले गढीमाई मेलामा राँगाबाहेक अन्य पशुबलिको तथ्याङ्क नहुने गरेको बताए । गढीमाई मन्दिरको चार किल्ला तोकिएको र बोकालगायतका पशुबलिका लागि मन्दिर क्षेत्रमा छुट्टै व्यवस्था हुन नसक्दा परम्परागतरूपमा चार किल्लाभित्र जुनसुकै स्थानमा पनि बोकालगायतका पशुको बलि दिन सकिने बताए । यही कारण बोकालगायतका बलिको तथ्याङ्क नहुने गरेको उनको भनाइ छ । यस वर्षको मेलामा मङ्सिर २३ (डिसेम्बर ८)का दिन राँगाको बलि र मङ्सिर २४ (डिसेम्बर ९) गतेका दिन बोकालगायत पशुबलिको मिति निर्धारण गरिएको छ । पञ्चवर्षीय गढीमाई मेलामा बलि अघि शुरूमा पूजा समारोहमा पञ्चबलि दिने र त्यसपछि मात्र राँगा अनि बोका लगायतको पशुबलि दिने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here