प्रस, वीरगंज, ४ मङ्सिर/
भौतिकवादी समाज, नेपाल सप्तरी जिल्लाको प्रथम जिल्ला सम्मेलन खडक नगरपालिका–५ खरचुहिया बजारस्थित योग भवनमा मङ्गलवार सम्पन्न भएको छ ।

भेलामा भौतिकवादी समाज, नेपालका अध्यक्ष श्रमजीवीले २१औं शताब्दीमा नेपाली समाजभित्र मङ्गलवार दाढी नकाट्ने, बिहीवार नङ नकाट्ने, अमुक दिन पूर्व, पश्चिम, उत्तर, दक्षिण नजाने, फलानो दिन भदवा लाग्ने आदि इत्यादि अन्धविश्वासमा पर्नु मूर्खताको मात्रै परिचय भएको बताए ।

उनले सिराहा जिल्लामा चलिरहेको भूत खेल्ने मेलाको रूपमा प्रख्यात कमलामाई मेलामा यस वर्ष दुईजना बच्चा डुबेर मरेको प्रसङ्ग कोट्याउँदै साँच्चिकै कमलामाई छ र उनले धामीझाँक्रीलाई सिद्धि गराउँछन् भने उनकैअगाडि दुईजना बच्चा कसरी डुबेर मरे भनी प्रश्न गरे । उनले यसबारेमा आजको पुस्ताले प्रश्न गर्नुपर्ने र विवेकशील बन्नुपर्ने बताए ।

सिराहा जिल्ला भौतिकवादी समाजका अध्यक्ष शिवकुमार महराले नवगठित कार्यसमितिलाई भौतिकवादी जीवनशैली अपनाउन आग्रह गरे ।

भेलाले सियाराम रामको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्ष कुन्चुनकुमारी राम, सचिव रामनाथ मण्डल, कोषाध्यक्ष लक्ष्मण बतिरामलगायत सदस्यहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here