प्रस, वीरगंज, ३ मङ्सिर/
पर्सा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूमा जोखिम कम रहेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पडितले बताएका छन् ।
उनले पर्सा जिल्लामा बचत तथा ऋण सहकारी संस्थाहरूको सङ्ख्या करीब २७५ रहेको र तीमध्ये २१७ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध रहेको बताए । पछिल्लो समयमा वीरगंजको ठूलो बचत तथा ऋण सहकारी संस्थामध्ये सानो पाइला समस्याग्रस्त घोषित भएको र थप दुईवटा बचतकर्ताहरूको रकम लिएर भागेकाबाहेक सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरू जोखिममा नरहेको बताएका छन् ।
उनले जोखिममा देखिएका बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले निगरानी बढाएको र बचतकर्ताको रकम नडुबोस् भन्नेतर्फ विशेष ध्यान दिंदै आएको बताए । उनले देशभरिमा अहिले १८ थरीका सहकारी संस्था सक्रिय रहेको र उनीहरूको सङ्ख्या ३१ हजार ८०० रहेको तथा त्यसमध्ये बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या १४ हजार रहेकामा सयभन्दा पनि कम सहकारीहरूमा समस्या देखिएको हालै सम्पन्न सहकारी संस्थाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको बताए ।
उनले पर्सा जिल्लामा १८ थरीका सहकारीमध्ये अहिले तीन थरीका सहकारी सञ्चालनमा रहेको अध्यक्ष पडितले बताए ।
महानगरमा २१६ वटा सहकारी
यता वीरगंज महानगरपालिका कार्यालयको सहकारी महाशाखा प्रमुख सुनील कर्णले भने– महानगरपालिकामा २१६ वटा सहकारी संस्था रहेकामा १० वटा बन्द भएको, १० वटा जतिमा समस्या देखिएको र बाँकी सहकारीहरू जोखिमरहित अवस्थामा सञ्चालनमा रहेको बताएका छन् ।
उनले सञ्चालित सहकारीहरूले आफ्नो आय–व्यय महानगरपालिका कार्यालयलाई उपलब्ध नगराएको बताए । वार्षिक साधारणसभामा निमन्त्रण गर्ने सहकारीहरूको आय–व्यय मात्र आफूहरूलाई थाहा हुने गरेको प्रमुख कर्णले बताए ।
वीरगंजको सानो पाइला सहकारीमा बचतकर्ताहरूको करोडौं बचत देखिएको र सो सहकारीका सञ्चालक जिबी राईलगायतका सञ्चालकहरूविरुद्ध उजूरी परे पनि त्यसमा हाल सहकारी विवादमा चर्चित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेको नाम नरहेको बताए ।