प्रस, परवानीपुर, ३ मङ्सिर/
बारा जिल्ला महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले पशुबलिका लागि विश्वमैं प्रसिद्ध गढीमाई मन्दिर र मेलाका बारेमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जानकारी नभएको बताएका छन् ।
उनले नेपालका मन्त्रीलाई त्यो पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई विश्वप्रसिद्ध नेपालको बारा जिल्लास्थित गढीमाई मन्दिर र पञ्चवर्षीय मेलाको बारेमा जानकारी नभएको सुन्दा आश्चर्य लागेको बताए । मङ्सिर १ गतेदेखि शुरू भएको विश्वप्रसिद्ध गढीमाई मेलाको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराएर मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र प्रचारप्रसारका लागि आग्रह गर्दा मन्त्री पाण्डेले गढीमाई मन्दिर र मेलाबारेमा अनभिज्ञता जाहेर गरेको बताए ।
नगरप्रमुख यादव गढीमाई मेला सञ्चालक समितिका अध्यक्ष पनि हुन् । महागढीमाई नपा–२ बरियारपुरमा यसपटकको पञ्चवर्षीय मेला शुरू भइसकेको छ । यही मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायतका पशुपक्षीहरूको बलि दिने मिति तय भएको छ ।
उनले गढीमाई मेलाका लागि सङ्घ र प्रदेश सरकारबाट पनि सहयोग नभएको दुःखेसो पोखे । मेलाको लागि महागढीमाई नपाबाट ५० लाख सहयोग गरिएको र सो रकम मेला सञ्चालनका लागि अपुग हुने उनले बताए । बारा क्षेत्र नं २ मा पर्ने बरियारपुरको गढीमाई मेलाप्रति सो क्षेत्रबाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि बेवास्ता गरेको उनले आरोप लगाए ।
केही दिन अघि मात्र बारा जिल्लामा आएका सांसद यादवले कलैया, सिम्रौनगढको कार्यक्रममा पुगेर समय दिएको तर आफ्नो क्षेत्रको ऐतिहासिक, धार्मिक विश्वप्रसिद्ध मेलामा चासो नदेखाएको आरोप लगाए । मेला शुरू भएको जानकारी भएर पनि उनी कार्यक्रमस्थलमा नआएको आरोप लगाए । उनले कलशयात्राको लागि पनि सांसद यादवलाई निमन्त्रण गर्दा पहाडमा कार्यक्रममा व्यस्त रहेको भनेर गढीमाई मेलाको कलशयात्रामा सहभागी हुन नआएको आरोप लगाएका छन् । उनले क्षेत्रका सांसदले मेलाका लागि स्रोत साधन जुटाउन मदत गर्नुपर्नेमा वास्ता नगरेको भनी दुःखेसो पोखे ।
फरक प्रसङ्गमा नगरप्रमुख यादवले पालिकाको बजेट लिन सङ्घ र प्रदेश सरकारका मन्त्री, कर्मचारीहरूले कमिशन लिने गरेको आरोप लगाएका छन् । उनले आफ्नो पालिकाको बजेट लिनका लागि सङ्घ र प्रदेश सरकारका मन्त्रीहरू, कर्मचारीलाई कमिशन दिंदै आएको बताए । सम्बन्धित मन्त्रीहरूले कमिशन लिने अनि अर्थमन्त्रीले पनि त्यसमा भाग खोज्ने, कर्मचारीहरूले पाँचदेखि १५ प्रतिशत निर्धारण गरिएको कमिशन लिएर मात्र बजेट पठाउने जस्ता कार्यले विकास हुने र देशमा समृद्धि आउने कुरा फगत सुन्नमा मात्र राम्रो लागि लाग्ने बताए ।
उनले सबै तह र तप्कामा भ्रष्टाचारले जरो गाडिसकेको र यस्तो जरो नफुस्काएसम्म विकास र समृद्धिको कुरा जनता झुक्याउने अस्त्रको रूपमा मात्र हेरिनुपर्ने बताए । उनले मन्त्री, कर्मचारीहरूको यो चालाले युवाहरूमा नैराश्यता छाएको र राजनीतिप्रति घृणा बढिरहेको बताए ।