प्रस, परवानीपुर, ३ मङ्सिर/
वीरगंज महानगरपालिका–१६ नगवास्थित नेपाल राष्ट्रिय माविको विवाद साम्य भएको छ । सो विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रले विषयगत शिक्षकको विषयलाई लिएर सोमवार बिहान कक्षा ९ र १० का विद्यार्थीहरूले तालाबन्दी गरेर विद्यालयबाहिर प्रदर्शन गरेकामा आजैदेखि विषयगत शिक्षक निजी स्रोतमा बहाल गरेर विवाद साम्य पारेको बताए ।

वीरगंज महानगरपालिका शिक्षा महाशाखाले तीन महीना अघि शिक्षकहरूको दरबन्दी मिलान गर्दा नेरामावि नगवाका लेखा र अर्थशास्त्र विषयका शिक्षकको अन्यत्र सरुवा गरेको थियो । सोही अवधिदेखि उक्त विद्यालयमा विषयगत शिक्षकको अभाव थियो । अहिले चाडपर्व सकिएपछि पनि विद्यालयमा विषयत शिक्षक नपठाउँदा अध्ययनमा समस्या भएको भन्दै कक्षा ९ र १० का विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरू बिहान विद्यालयमा आएका र सोमवार अकस्मात् राष्ट्रिय शोकमा सार्वजनिक बिदा भनेर जानकारी गराइएपछि विषयगत शिक्षकहरूको कुरा उठान गरी विवाद गरेर विद्यालयमा तालाबन्दी गरी बाहिर टायर बालेर विरोध प्रदर्शन गरेको प्रअ मिश्रले बताए ।

विद्यार्थीहरूको प्रदर्शनबारेमा महानगरप्रमुख राजेशमान सिंहले चासो देखाएको उनले बताए । आफूले आजै दुवै विषय पढाउने गरी एकजना शिक्षकलाई निजी स्रोतबाट तलब खुवाउने गरी नियुक्त गरेर हाजिर गराएको र भोलिदेखि नियमितरूपमा कक्षा सञ्चालन हुने उनले बताए ।

बिहानदेखि शुरू भएको विद्यार्थीहरूको विवाद दिउँसो ३ बजे स्थानीय भद्रभलादमीहरूको रोहबरमा निजी स्रोतका शिक्षकलाई हाजिर गराएपछि साम्य भएको प्रअ मिश्रले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here