जीतलाल श्रेष्ठ, निजगढ, २१ पुस/
मानिसका लागि सिंहदरबारको अधिकार घरआँगनसम्म भनिए पनि हाम्रा अमूल्य निधि वन्यजन्तुका अधिकारतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारले ध्यान दिन सकेका छैनन्।
कागजमा तयार गरिएका नीतिलाई तदारूकताका साथ सरोकारवाला निकायहरूले कार्यान्वयन गर्न ध्यान नदिंदा समस्या जस्ताको तस्तै छ।
पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएपछि ६२७.३९ वर्गकिलोमिटर छ। जसमा महेन्द्र राजमार्ग अन्तर्गत बाराको अलेखगंज–पथलैया, पथलैया–निजगढ सडकखण्ड करीब २५/३० किलोमिटर पर्दछ।
यस निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख बासस्थान मानिएको छ। जसमा संरक्षित पाटेबाघ, गौरीगाई, चितुवा, भालु, चित्तल, हरिण, बँदेल, हुँडारलगायत चराचुरुङ्गीहरूमा मयुर, लाचे, वन कुखुरालगायत वन्यजन्तुका अन्य प्रजातिसमेत छन्।
पुस महीनाभरि मात्रै सवारीसाधनको ठक्करबाट एकवटा संरक्षित पोथी पाटेबाघ र चारवटा चित्तलको ज्यान गइसकेको छ भने ढेंडु बाँदर, बाँदर, स्याल, हुँडारलगायत अन्य वन्यजन्तु चराचुरुङ्गीको सवारीसाधनको ठक्करबाट दिनहुँ मृत्यु वा घाइते हुन्छन्। यसतर्फ संरक्षणकर्मीहरूको ध्यान पुगेको देखिंदैन।
संरक्षित वन्यजन्तुहरूको असहज ढङ्गबाट मृत्यु वा सवारीसाधनको ठक्करबाट मृत्यु भएपछि मात्रै क्षति न्यूनीकरणतर्फ विगतदेखि नै निकुञ्जको चासो बढ्ने गरेको छ।
सडकमा सवारीसाधनको ठक्करले बाघको मृत्युको घटना वन्यजन्तु संरक्षणकर्मीहरूका लागि पीडादायक घटना रहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बाराका सहायक संरक्षक अधिकृत एवं सूचना अधिकारी रमेश यादवले बताए।
निकुञ्ज हुँदै राजमार्ग, सडक गएका कारण वन्यजन्तुहरू सडक पार गर्ने गर्छन्। वीरगंज–पथलैया औद्योगिक कोरिडोर र यस क्षेत्रबाट हेटौंडा, नारायणगढ, काठमाडौं, पोखरा, नेपालगंजलगायत देशका ठूला–साना शहर जाने रूट परेकोले पनि यो सडकखण्ड अति व्यस्त हँुदा वन्यजन्तु उच्च जोखिममा छन् नै यात्रुहरूलाई पनि त्यतिकै जोखिम हुने गरेको सूचना अधिकारी यादवले बताए।
विगतमा भन्दा अहिले सवारीसाधन बाक्लिएका कारण पनि केही वर्षयतादेखि वन्यजन्तुमाथि झनै समस्या र चुनौती थपिएको हो।
अब हामीले यस्ता घटना, जोखिमलाई न्यूनीकरण गर्नेतर्फ टाइमकार्ड, वन्यजन्तुका लागि अन्डरपास जस्ता अन्य उपायहरू खोजी गर्नेतर्फ विशेष ध्यान निकुञ्ज कार्यालयको गएको सूचना अधिकारी यादवले बताए।
निकुञ्ज क्षेत्रमा पर्ने यस राजमार्ग, सडकमा सवारीसाधनका लागि टाइमकार्ड कार्यान्वयन गरी नियमित अनुगमन गर्न सो निकुञ्जका अवकाशप्राप्त वार्डेन एवं संरक्षक अधिकृत बाबुराम यादवले सुझाए। दिन प्रतिदिन जनसङ्ख्यासँगै सवारीसाधनको सङ्ख्या बढ्दो छ। कोरोना सङ्क्रमणका कारण निजी सवारीसाधन खरीद गर्नेको सङ्ख्या बढिरहेको छ। सडकको अवस्था पुरानै छ। तर सवारीसाधनको चाप बढ्दो छ। त्यसैका कारण पनि वन्यजन्तुहरूको अकालमा ज्यान जाने क्रम बढेको छ।
“पहिले पनि यस्ता दुर्घटना नभएका होइनन्। तर निकै न्यून हुन्थ्यो। अहिले एक महीनाभित्रै ४/५ वटा घटना हुनु निकै पीडादायक हो,” उनले भने, “अब ढिलाइ गर्नुहुन्न। जति ढिला गर्दै गयो, क्षति त्यति नै बढ्दै जान्छ।”
पूर्व–पश्चिम महेन्द्र राजमार्ग भएकोले पनि यस सडकखण्डमा सवारीसाधनको गति तीव्र हुने गरेको छ। जङ्गली हात्तीले सडक पार गर्दा यहाँ प्रायः प्रत्येक वर्ष घण्टौं सडक अवरुद्ध हुने गरेको छ। निकुञ्ज कार्यालयले सीमित स्थानहरूमा मात्र सावधानीका होडिङ बोर्डहरू सडकछेउमा राखेका छन्। तर यहाँ गुड्ने सवारीसाधनका चालकहरूलाई वन्यजन्तुका विषयमा चेतनामूलक जानकारी दिइएको पाइँदैन।
सवारीसाधनको गतिलाई नियन्त्रण गर्न समेत कुनै भरपर्दो कार्यको थालनी गरिएको छैन। जसका कारण वन्यजन्तुहरूको अकालमा ज्यान जाने, घाइते हुने मात्रै होइन, सवारीसाधन दुर्घटनासँगै यात्रुहरूको समेत ज्यान जाने गरेको छ।
निकुञ्ज विस्तारसँगै सुरक्षाका लागि सेनाले सुरक्षा दिएपछि वन्यजन्तुको चहलपहल, आवतजावत राजमार्ग आसपासका वनक्षेत्रसम्म बढेको छ। जसका कारण दुर्घटनामा वन्यजन्तु, मानिस, सवारीसाधनसमेतको क्षति हुने गरेको छ।