मुलुक पूर्वाधार विकास र निर्माणको चरणमा छ । यो चरणमा निर्माण सामग्रीमध्ये सिमेन्टको भूमिका महŒवपूर्ण रहन्छ । स्वदेशमा सिमेन्ट उद्योगको अवस्था उत्साहजनक छैन, मिश्रित छ । सिमेन्ट उत्पादनमा आत्मनिर्भर लक्ष्य मुलुकले लिएको भए तापनि स्थापना भइसकेका उद्योगहरू नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा विदेशी सिमेन्टमा निर्भरता कायमै छ । हालसम्मका विभिन्न सर्भे अनुसार नेपालको सिमेन्ट उद्योगले राष्ट्रिय मागको लगभग ६० प्रतिशत मात्र धानेको छ । बाँकी ४० प्रतिशत हिस्सा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । उद्योगीहरूको भनाइ अनुसार, देशमा सिमेन्टको वार्षिक माग करीब एक करोड ५० लाख मेट्रिक टन छ, स्वदेशी उत्पादन लगभग ९० लाख मेट्रिक टन छ । हेटौंडा सिमेन्ट जस्ता सरकारी उद्योगहरू पटकपटक विभिन्न बहानामा बन्द हुने गरेका छन् भने निजी क्षेत्रका उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । बजार पर्याप्त भएपनि उत्पादन नियमित हुन नसक्नुले देशको सिमेन्ट उद्योग असहज परिस्थितिमा रहेको सङ्केत गर्छ ।

अधिकांश स्वदेशी सिमेन्ट उद्योगले पुराना र कम उत्पादक उपकरणहरू प्रयोग गरिरहेका छन् । अत्याधुनिक प्रविधि भिœयाउन आवश्यक लगानीको अभावले उत्पादनमा कमी आएको छ । त्यसैगरी, विद्युत् आपूर्ति र महँगो ऊर्जा पनि अर्को कारण हो । सिमेन्ट उत्पादन एक ऊर्जामुखी प्रक्रिया हो, जसमा ठूलो मात्रामा विद्युत् र कोइलाको खपत हुन्छ । तर नेपालमा विद्युत् आपूर्तिको अनियमितता र कोइला आयात महँगो एवं परनिर्भरता छ । हाम्रो मुलुकमा सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, विशेषगरी क्लिङ्कर, पर्याप्त मात्रामा उपलब्ध छैन । स्वदेशी क्लिङ्कर उत्पादन सीमित भएको हुँदा सिमेन्ट उद्योगहरूले महँगो मूल्यमा आयात गर्नुपर्छ । यसको अलावा हामीकहाँ नीतिगत अस्थिरता छ । सिमेन्ट उद्योगका लागि दीर्घकालीन नीतिको अभावले लगानीकर्ता अन्योलमा परेका छन् । अस्थिर सरकारको अस्थिर नीतिका कारण उद्योगहरू ठोस योजनाका साथ दीर्घकालीन लक्ष्य लिएर अघि बढ्न सकेका छैनन् । प्रशासनिक र आपूर्ति प्रणालीको कमजोरी उत्तिकै छ । कच्चा पदार्थ आपूर्ति, यातायात र भन्सार प्रक्रियामा देखिने ढिलासुस्तीले उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ ।

विदेशी सिमेन्ट आयातमा हाम्रो अर्बौं धनराशि बाहिरिने गरेको छ । सिमेन्ट जस्तो आधारभूत वस्तुमा पनि परनिर्भरता रहिरहनु केवल आर्थिक क्षति मात्रै होइन, निर्माण क्षेत्रको आत्मनिर्भरता र दिगोपनको दृष्टिले पनि घातक हो । यसर्थ हामीलाई आवश्यक सिमेन्ट हाम्रो आफ्नै उद्योगबाट उत्पादन गर्ने दीर्घकालीन उपायहरू अपनाउनैपर्छ । यसको लागि सरकार र निजी क्षेत्रबीच साझेदारी गरी उद्योगहरूको प्रविधि स्तरोन्नतिमा लगानी गर्नुपर्छ । उत्पादन प्रक्रियालाई दक्ष बनाउन नयाँ र आधुनिक उपकरण तथा प्रविधि भिœयाउनु आवश्यक छ । ठूलो कुरा ऊर्जा हो । सरकारले सिमेन्ट उद्योगलाई विशेष प्राथमिकता दिंदै सस्तो र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्छ । यदि सम्भव छ भने उद्योगहरूलाई सौर्य ऊर्जाजस्ता विकल्प अपनाउन प्रोत्साहन गरिनुपर्छ । कच्चा पदार्थ क्लिङ्कर उत्पादनमा स्वदेशी उद्योगहरूको लगानी बढाउन विशेष नीति बनाइनुपर्छ । ठूला खानीहरूको व्यवस्थित उत्खनन र वातावरणीय मापदण्ड पूरा गरी स्वदेशमैं पर्याप्त क्लिङ्कर उत्पादन गर्न सकिने आधार तयार गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here