प्रस, वीरगंज, २८ कात्तिक/
राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साले बुधवार पार्टी अध्यक्ष रवि लामिछानेको रिहाइ माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
घण्टाघरबाट विरोध जुलुस प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन बुझाइएको थियो । पर्सा अध्यक्ष हरि पन्तले बुझाएको ज्ञापनमा सहकारी ठगीमा पार्टी अध्यक्ष एवं सांसद लामिछाने संलग्न नरहेको र संसदीय समितिले पनि सो कुराको पुष्टि गरिसक्दा उनलाई सोही मुद्दामा पक्राउ गरी सरकारले राजनीतिक प्रतिशोध साँध्ने काम गरेको उल्लेख छ ।
विज्ञप्तिमा सहकारी ठगीमा संलग्न नरहेको पुष्टि भएपछि अध्यक्ष लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा गएको र त्यसको कुनै बखत प्रबन्धक रहेर खर्च गरेको भनी पक्राउ गरिनु र पटकपटक म्याद थप गरेर थुनामा राख्ने कार्य गर्नु राजनीतिक प्रतिशोध साँध्नेबाहेक अन्य कुनै काम नभएको उल्लेख छ । विज्ञप्तिमा आगामी दिनमा म्याद थप गरिए पर्सामा अनशन शुरू हुने चेतावनी दिइएको छ ।
विज्ञप्ति बुझाएर रास्वपा, पर्साले घण्टाघरमा कोणसभा गरेको थियो । कोणसभामा पर्सा अध्यक्ष पन्तले पार्टी अध्यक्ष लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गराएर थुनामा राख्ने कार्य गरिएको आरोप लगाए । उनले अनुसन्धानको नाममा पटकपटक म्याद थप्ने कार्य मात्र भइरहेको र यसले पनि अध्यक्ष लामिछानेविरुद्ध राज्यको नियत राम्रो नदेखिएको बताए । उनले अब पनि म्याद थपिए पर्सामा अनशन गरिने चेतावनी दिए ।
कोणसभामा केन्द्रीय सदस्य डा नन्दन यादव, मधेस प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय, क्षेत्रीय सभापतिद्वय जीतेन्द्र मिश्र, पैmयाज मियाँ, बहुदरमाई नपाका अध्यक्ष चन्दन गुप्तालगायतले पार्टी अध्यक्ष लामिछानेलाई सहकारी ठगीको आरोपमा अनाहक पक्राउ गरेर कानूनी राज्यको खिल्ली उडाउने कार्य मात्र भएको बताएका थिए । कोणसभामा दिलीप कुर्मी, तुलसा अधिकारी, सुदीश प्रजापति, सब्बु कँडेल, सोनालाल पटेल, माधव बस्नेत, उमेश गुप्ता, पूर्ण सापकोटालगायको सहभागिता थियो ।