बलिराम शुक्ला, बडनिहार, २७ कात्तिक/
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुदर्शी पूर्णिमाको दिन पर्साका पाँच र बाराका दुई स्थान गरी सातवटा वनदेवी स्थलमा धार्मिक मेला लाग्दै आएकामा यस वर्ष पनि ती स्थलहरूमा मेलाको तयारी भइरहेको छ ।
पर्सागढी नगरपालिका अन्तर्गत आमोदेवीमाई र कोइलाभारमाई, ठोरी गापाको बाघमोर्चामाई, जीराभवानी गापाको सुगीभारमाई र पटेर्वासुगौली गापाको गादीमाई गरी पर्सा जिल्लाका पाँच स्थान र बारा जिल्लाका करैयामाई र चोइलाभारमाईमा कार्तिक पूर्णिमा मेलाको तयारी शुरू छ ।
वनदेवीमाता सात दिदीबहिनी रहेका र सातैजनाको स्थलमा परापूर्वकालदेखि कार्तिक पूर्णिमाको अवसरमा मेला लाग्दै आएकामा यस वर्ष पनि कार्तिक पूर्णिमा मेला कात्तिक २९ बिहीवार र ३० गते शुक्रवार लाग्ने तय भएको छ ।
शुक्रवार पूर्णिमाको दिन बिहान पर्सागढी नपा–४ का बकनेर्वा गाउँका मुसहर समुदायले पूजाआजा गरी बलि दिने र त्यसपछि अन्य सर्वसाधारणहरूले बलि दिने र पूजा गर्ने प्रचलन रहेको आमोदेवीमाईका गुरु जुगेश्वर गुरोले बताए । कोइलाभारमाई मेलाको पनि अन्तिम तयारी सम्पन्न भएको मेला समितिका अध्यक्ष एवं पर्सागढीका वडाध्यक्ष राजकपूर खवासले बताए । उनले बिहीवार बेलुकादेखि मेला लाग्ने र शुक्रवार पूर्णिमाको दिन बिहान माईस्थानमा सखुवाप्रसौनी गापा–१ औराहाका प्रयाग महतोको घरमा पशु बलि दिएर पूजा सम्पन्न भएपछि सर्वसाधारणले बलि दिने तथा पूजा गर्ने बताए ।
मेलामा शान्ति सुरक्ष्Fाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू परिचालन गरिएका छन् । सातवटै देवीको मेलामा नेपाल र भारतबाट लाखौंको सङ्ख्यामा भक्तजनहरू सहभागी हुनेछन् ।