प्रस, वीरगंज, २७ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्साले सोमवार र मङ्गलवार दुई दिनमा यात्रीहरूसँग बढी भाडा लिने पाँचजनालाई पक्राउ गरेको छ ।
दीपावली र छठपछि वीरगंजबाट काठमाडौं यात्रा गर्ने यात्रीहरूसँग तोकिएको भाडादरभन्दा बढी लिने गरेको गुनासोसँगै प्रहरीले सोमवार तीनजनालाई वीरगंज बसपार्कबाट पक्राउ गरेको थियो भने आज मङ्गलवार दुईजनालाई पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंको लागि टाटासुमोको भाडा रु ८५०, इभी (विद्युतीय सवारीसाधन) रु ८५० र रात्रिबसको एक हजार दररेट रहेकामा सोभन्दा बढी १५००–१८०० सम्म भाडा लिएर यात्रीहरूलाई ठगेको गुनासो आएपछि प्रहरीले सोविरुद्ध अभियान चलाएको थियो । अहिले वीरगंजबाट काठमाडौं जाने यात्रीहरूको चाप निकै बढेको छ । आगामी आइतवारसम्म वीरगंजबाट काठमाडौं जाने सम्पूर्ण रात्रिबस पूर्णरूपमा बूकिङ छन् भने टाटासुमो र इभी पनि अन्य दिनको तुलना बढी सङ्ख्यामा सञ्चालनमा छन् । काठमाडौंबाट वीरगंज आउने यात्री घटेको र यहाँबाट काठमाडौं जाने यात्रीको सङ्ख्या बढेका कारण भाडादरमा ठगीधन्दा मौलाएको हो ।
व्यवसायीहरूले भने चाडपर्वमा एकतर्फी यात्री मात्र पाउने गर्दा दशैंमा वीरगंजबाट काठमाडौं जाने यात्री घट्ने र काठमाडौंबाट वीरगंज आउने यात्री बढ्ने, त्यसैगरी दीपावली र छठमा पनि सोही क्रम दोहोरिने र त्यसपछि वीरगंजबाट काठमाडौं जाने यात्रीहरूको सङ्ख्या बढ्ने हुँदा दोब्बरी भाडा लिनुपर्ने बाध्यता रहेको सफाइ दिएका छन् ।