प्रस, वीरगंज, २७ कात्तिक/
जिल्ला प्रशासन कार्यालय, पर्साले हिजो सोमवार छवटा सरकारी कार्यालयको अनुगमन गर्दा थुप्रै कर्मचारी अनुपस्थित देखिएका थिए । दशैं, दीपावली, छठ पर्व सकिए पनि सरकारी कार्यालयहरूमा कर्मचारीहरू अनुपस्थित हँुदा सेवाग्राहीले दुःख पाएको गुनासा आएपछि हिजो भूमिसुधार तथा मालपोत कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना, यातायात व्यवस्था कार्यालय, नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालय पर्सामा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कर्मचारीहरू लापरवाह देखिएको जिप्रका, पर्साले जनाएको छ । सो कार्यालयमा तीनजना अनुपस्थित, चारजना बिदामा र २१ जना कार्यालय समयभन्दा ढिला उपस्थित भएका थिए । यसैगरी, सघन शहरीमा एकजना बिदामा, आठजना अनुपस्थित र एकजनाले हाजिर नगरेको पाइएको थियो । यातायातमा कार्यालय प्रमुखसहित ११ जना अनुपस्थित थिए । नेविप्रा वीरगंज वितरण केन्द्रमा भने ई–हाजिरीको व्यवस्था गरिएको तर सोको विवरण उपलब्ध नभएको जिप्रका, पर्साले जनाएको छ । स्वास्थ्यमा पाँचजना अनुपस्थित र एकजना बिदामा तथा डिभिजन वनमा पाँचजना अनुपस्थित थिए ।
जिप्रका, पर्साले मधेस प्रदेश अन्तर्गतका कार्यालयहरूको प्रदेशमा विवरण पठाउने र सङ्घ अन्तर्गतका कार्यालयहरूमा स्पष्टीकरण सोधिने जानकारी गराएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख डमरु निरौलाले आफू सोमवारसम्म काज बिदामा रहेकोले मङ्गलवारको अनुगमनमा अनुपस्थित र ढिला भएका कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको बताए ।