दशैं, तिहार, छटलगायतका मुख्य पर्वहरूले बिदा लिंदै गर्दा स्थानीयस्तर तथा गाउँघरमा आयोजित खेलकूद प्रतियोगिताहरू पनि पातलिंदै गएका छन् । पर्वको आगमनसँगै स्वस्फूर्तरूपमा गाउँ, टोलमा खेलकूद प्रतियोगिता आयोजना गरिने र पर्व सकिंदै जाँदा प्रतियोगिताहरू पनि समापन तथा विश्रम लिंदै जाने चलन छ । चाडपर्व हाम्रो समाजमा मात्र होइन, हरेक युवा तथा परिवारको जीवनमा एक विशेष स्थान ओगट्ने समय हो । वर्षभरि आआफ्नो काममा व्यस्त रहेका परिवारजनका लागि चाडपर्वले भेटघाट, मेलमिलाप एवं आत्मीयताको अवसर ल्याउँछ । यस अवसरमा हुने खेलकूद गतिविधिहरूले गाउँघर, समाजमा पनि सकारात्मक परिवर्तन ल्याइरहेको पाइन्छ । चाडपर्वको समयमा घर फर्किएका युवाहरूले आफूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने एउटा महŒवपूर्ण माध्यम खेलकूद हो । पर्वको रमाइलोसँगै सामूहिकरूपमा खेलकूदमा सहभागी हुँदा उनीहरूमा खुशी बढ्नुका साथै आफ्नो धर्म–संस्कृति, गाउँठाउँ र साथीसङ्गीप्रतिको माया गाढा हुन्छ । खेलकूद प्रतियोगिता आयोजना गर्दा युवाहरूले टोली मिलेर खेल्नुका साथै असल नेतृत्व, खेल भावना, कुशल व्यवस्थापन, जवाफदेहिता एवं दायित्व बोध र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सक्ने वातावरण बन्छ । त्यसैले चाडपर्वको रमाइलोमा नयाँ रौनक थपिदिने एउटा प्रभावकारी माध्यम खेलकूद बनेको छ ।

स्थानीय तथा गाउँ स्तरमा चाडपर्वको अवसरमा शुरू गरिएका खेलकूदबाट अभिप्रेरित कैंयन युवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किएका उदाहरण छन् । थुप्रै उदाहरण छन्, जहाँ गाउँस्तरमा भएको खेलकूदले युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा होमिन प्रेरित गरेको छ । विडम्बनाको कुरा चाडपर्वको अवसरमैं मात्र गाउँघरमा खेलकूद सीमित छ । स्थानीयस्तरमा स्थायीरूपमा खेलकूद कार्यक्रमको अभाव हुँदा युवाहरू नियमित अभ्यास र खेलकूदमा अवसरबाट वञ्चित छन् । स्थायी खेलकूद कार्यक्रमले मात्र निरन्तरता दिन सक्छ, जसले युवाहरूका साथै स्थानीय बालबालिकालाई समेत खेलकूदमा विशेष सीप र अनुशासनमा प्रशिक्षित बनाउनेछ ।

सरकारले गाउँगाउँमा खेलकूद आयोजन गर्न विशेष नीति तथा बजेट विनियोजन गरे, स्थानीय तहले खेलकूदको संरचनालाई प्रवद्र्धन गर्न सक्रिय पहल गरे, अझ धेरै स्थानीय प्रतिभा उजागर हुन सक्छन् । हाम्रा बालबालिका, किशोरकिशोरी एवं युवाहरूलाई शहरका भव्य रङ्गशाला र ठूला प्रतियोगितामा खेल्ने सपना छ, तर ती सपना पूरा गर्न स्थानीयस्तरमैं आधार तयार गर्न आवश्यक छ । कलिलो उमेरदेखि नै खेतकूद अभ्यास गर्न पाए अझ भरपर्दो हुन्छ । यसका लागि सरकारी निकाय, स्थानीय तह र समाज एकजुट भएर स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ । चाडपर्वको अवसरमा मात्र होइन, वर्षभरि खेलकूद कार्यक्रम चलिरहने वातावरण निर्माण गरिनुपर्छ, तब मात्रै हाम्रो समाजमा खेलकूदको उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं । अतः चाडपर्वको समयमा गाउँघरमा हुने खेलकूद सामाजिक एकता र मित्रताको सेतुका साथै भविष्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतिनिधि तयार गर्ने मञ्च पनि हो । खेलकूदले मानवमा संस्कार, अनुशासन र आत्मविश्वास विकास गर्छ । यसर्थ स्थानीयस्तरमा हुने खेलकूदलाई चाडपर्व केन्द्रित मात्रै नगरी निरन्तरता दिने आधार तयार गरिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here