प्रस, महोत्तरी, १३ कात्तिक/
महोत्तरीका विभिन्न तीनवटा साझेदारी वनले उपभोक्तालाई काठ बिक्री वितरण गर्न पाउने भएका छन् । साझेदारी वनमार्फत सहुलियत दरमा उपभोक्तालाई काठ वितरणको तयारी भएको डिभिजन वन कार्यालय, महोत्तरीले जनाएको छ । सालसहित विभिन्न जातका काठ वितरण अन्तिम तयारीमा पुगेको डिभिजन वन कार्यालय, महोत्तरीले जनाएको हो ।

पछिल्ला केही वर्षदेखि ढलापडा काठहरू घाटगड्डीमा थन्किए पनि बिक्री वितरण हुन पाएको थिएन । हाल साझेदारी वन व्यवस्थापन कार्यविधि स्वीकृत भएकोले काठ बिक्री वितरण प्रक्रिया सहज भएको हो ।

डिभिजन वन कार्यालय, महोत्तरीका प्रमुख अजय मिश्रले लामो समयदेखि कार्यविधि अभावका कारण काठ थन्किएको बताउँदै अब सहजरूपमा वितरण गर्न सकिने जानकारी दिएका छन् । उनले क्रमिकरूपमा ढलापडा र थिनिङ अर्थात् जङ्गल काँटछाँटबाट उत्पादित काठ वितरण गर्ने योजना रहेको जानकारी दिएका छन् ।

उपभोक्ताहरूले काठ अभावका कारण घर निर्माणलगायतका महŒवपूर्ण कार्यहरू गर्न नसकेको अवस्थामा सहुलियत दरमा काठ वितरण शुरू हुनु अति सकारात्मक काम भएको उपभोक्ताहरूको प्रतिक्रिया छ ।

बाँके मरहा साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष बलराम यादवले दैनिक काठको लागि धेरै निवेदन आइरहेको बताउँदै सहज वातावरणमा काठ बिक्री वितरण शुरू भएको जानकारी दिए । उनले पुराना काठहरू घरका झ्यालढोकाका लागि प्रयोग गर्न सकिने र अन्य प्रयोजनका लागि भने अलि राम्रो काठ हेरेर दिने गरेको बताए ।

महोत्तरीस्थित बाँके मरहा साझेदारी वन उपभोक्ता समूह, टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूह र गढन्ता साझेदारी उपभोक्ता समूहले काठ बिक्री वितरण प्रक्रिया शुरू गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here