प्रस, परवानीपुर, १३ कात्तिक/
पाँच दिन अघि बारा जिल्लामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका श्रीनारायण यादवको घटनामा बारा प्रहरी अनुसन्धान तीव्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार महागढीमाई नगरपालिकाको सेमरा तेगछिया बस्ने यादवको हत्यासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको र केही कागजात, कल डिटेल्स र अन्य तथ्यहरूको सूक्ष्म परीक्ष्Fण गरी घटनाको सत्यतथ्य चाँडै बाहिर ल्याउने तयारी भइरहेको बताए ।
पक्राउ परेकाहरूसँग बयान लिने क्रम जारी रहेको उनले बताए । यादवको हत्यामा अहिलेसम्म छजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बाराको हिरासतमा राखिएको छ । आन्तरिक कारणले यादवको हत्या भएको हुन सक्ने बारा प्रहरीको अनुमान छ । महागढीमाई नपा–१ सेमरा तेगछियाका ५० वर्षीय यादवको शनिवार राति ८ बजे घरनजीकै घाँटीमा धारिलो हतियार प्रहार गरिएको थियो । गम्भीर घाइते यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।