सहकारीको अर्थ सहकार्य हो । सहकार्य तथा सङ्गठनको नकारात्मक पक्ष कतै छैन । यही तथ्यलाई केन्द्रमा राखेर सहकारीको अवधारणा आएको हो । ‘सहकारी’ एक आर्थिक र सामाजिक सङ्गठन पनि हो । सहकारीका सदस्यहरू एकापसमा मिलेर वा सहकार्य गरेर साझा चासोको आधारमा स्वामित्व र व्यवस्थापन गर्छन् । मानवजीवन तथा समाज विकासको मेरुदण्ड आर्थिक भएको हुँदा, सहकारीको मुख्य उद्देश्य पनि सदस्यहरूको आर्थिक उन्नति गर्दै सामाजिक र सांस्कृतिक आवश्यकताहरू पूरा गर्नु हो । सहकारीको अवधारणा समयसँगै विकसित भएको पाइन्छ । शुरूमा व्यापार तथा वित्त क्षेत्रलाई मात्रै लिएको सहकारीले समयक्रमसँगै कृषि, स्वास्थ्य, शिक्षामा पनि महŒवपूर्ण भूमिका खेल्दै आएको छ । सहकारीहरूले सदस्यहरूको स्वामित्व, लोकतान्त्रिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन्छ । सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक भागीदारी, शिक्षा एवं सचेतना तथा जानकारी, सहकार्य र समुदायको विकास सहकारीको मुख्य सिद्धान्त हो । यसरी सहकारी समाजको विकासमा महŒवपूर्ण साधनको रूपमा प्रयोगमा आएको छ ।
सहकारीमा आबद्ध सदस्यहरूबीच केही कुरामा समानता हुनैपर्छ । आबद्ध सदस्यहरूको वर्ग, स्तर, क्षेत्र, उद्देश्य, आर्थिक चासो, सहयोगको भावना, भागीदारी, समान मूल्य र सिद्धान्तलगायतमा समानता आवश्यक छ । समानता नरहे सहकारीको प्रभावकारिता र सहकार्यलाई प्रवद्र्धन गर्न समस्या हुन्छ । सबै कुरामा समानता नभए पनि अधिकांश पक्षमा समानता हुनैपर्छ । अन्यथा त्यस्तो सहकारिता दिगो, लोकतान्त्रिक, सहज र सहअस्तित्वसहितको हुन सक्दैन । उदाहरणको लागि अर्बपति र निम्न आयस्तरका सदस्यबीच एउटै सहकारीमा सदस्य रहन घातक हुन्छ । त्यसैगरी, भौगोलिक वा दूरीको हिसाबले टाढा रहेका सदस्यहरू एउटै सहकारीमा रहँदा सहकार्य हुन सक्दैन भने राष्ट्रियस्तरका व्यापारीको लगानी, बचत एवं आवश्यकता र कृषि मजदूको लगानी, बचत, आवश्यकता समान हुन सक्दैन । समानता नभए अपारदर्शिता, एकल स्वार्थ, निरङ्कुशता हाबी हुन्छ । बाहिरबाट हेर्दा सहकारीजस्तो देखिए पनि भित्र सहकारी हुँँदैन । उदाहरणका लागि हाम्रो मुलुकका केही सहकारीमा हाल देखिएको विकृति काफी छ ।
सहकारीमा ठगी प्रकरणले यसको नामलाई बदनाम ग¥यो । वास्तवमा सहकारी असफल भएको हो ? सोच्न बाध्य बनायो । डरको कारण कतिपय सहकारीका सदस्य एवं शेयर होल्डरहरूले आआफ्ना सहकारीबाट रकम निकालेर लगे । वास्तविक सहकारीमा ठगी हुँदैन । समान हैसियत तथा उद्देश्य रहेका सदस्यहरू भएको संस्थामा विनियम, नियम तथा बैठक निर्णयहरू सामूहिक छलफलबाट हुन्छ । यसका निक्षेप, लगानी तथा नगद मौज्दात एवं तरलता पारदर्शी हुन्छ । एक व्यक्तिले धेरै रकम लिन पाउने अवस्था रहँदैन । सहकारीका सदस्यबाहेक अरूले ऋण पाउँदैनन् । सहकारीका सदस्यले पनि आफ्नो बचतभन्दा बढि ऋण लिन परे अन्य बचतकर्ता जिम्मेवार बस्नुपर्छ । चिया बेचेर, मकै पोेलेर गरेको बचत सहकारीको सदस्यभन्दा बाहिरका अर्बपतिले ऋण लिएका छन् । यो सहकारीको मर्म र सिद्धान्तविपरीत भयो । सिद्धान्तविपरीत चलेमा दुर्घटना निश्चित छ । जहाँ सहकारी राम्रो चलेको छ, त्यहाँ बैंकबाट रकम निकालेर सहकारीमा राख्ने क्रम चलिरहेकै छ । बचतकर्ता ढुक्क छन् ।