प्रस, वीरगंज, १० कात्तिक/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल मिथिला–भोजपुरा ब्युरोको आयोजनामा शनिवार वीरगंजमा ‘वैज्ञानिक समाजवाद किन र कसरी ?’ विषयमा विचारगोष्ठी सम्पन्न भएको छ ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतिले सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति भएको युगमा प्रचुर उत्पादन सम्भव भएकाले प्रारम्भदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण सम्भव भएको र अबको कम्युनिस्ट आन्दोलनले उत्पादनका सबै आयामहरूमा हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।
उनले हिजोको कम्युनिस्ट आन्दोलनले झन्डा र किताब मात्र बोक्न सिकाएको तर अबको आन्दोलनले वृहत् उत्पादनलाई कम्युनिस्टहरूले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिए । उनले संसदीय दलहरूलाई दलाल पूँजीवादले सम्पूर्णरूपले नियन्त्रण गरिसकेको अवस्थामा नयाँ कम्युनिस्ट आन्दोलन निर्विकल्प रहेको जिकिर गरे । उनले अहिले देशमा उत्पादन ठप्प रहेको र नेपालीहरू विदेशी उत्पादनका उपभोक्ता मात्र बनिरहेको अवस्थाबाट देशलाई मुक्त गर्दै उत्पादनमा आधारित भएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा पार्टी अघि बढिरहेको बताए ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा नेका महासमिति सदस्य प्रकाश उपाध्याय, ठाराब क्याम्पसका प्राध्यापक वीरेन्द्र साह, नेकपा माओवादीका राजु बैठाले टिप्पणी गरेका थिए । उनीहरू अहिले देश गम्भीर सङ्कटमा रहेको र नयाँ विकल्पको खोजी आवश्यक रहेको बताए । उनीहरूले दलहरू उद्देश्यअनुरूप नचलेको बताएका थिए ।
कार्यक्रमको संयोजन मिथिला–भोजपुरा ब्युरो संयोजक मदन प्रभातले गरेका थिए भने सञ्चालन सचिव धनबहादुर श्रेष्ठ र स्वागत सदस्य रिङ्कु रायले गरेका थिए ।