प्रस, परवानीपुर, १० कात्तिक/
नेपाल पोस्ट मिडिया प्रालिले वीरगंजमा शनिवारदेखि रेडियो सीमाञ्चल ९५.१ मेगाहर्ज सञ्चालनमा आएको छ । वीरगंज–११ श्रीपुरमा नेपाल पोस्ट डेलीको कार्यालयमैं सञ्चालित रेडियोको उद्घाटन सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले गरेका थिए ।
कार्यक्रममा उनले रेडियाको महŒव र प्रभाव अहिले पनि कम नभएको बताए । उनले विगतमा प्राकृतिक विपद्को समयमा रेडियोले प्रभावकारी भूमिका खेलेको बताए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मिडियाले वीरगंज महानगरको समस्या नदेखेको चर्चा गर्दै खाली नकारात्मक कुरा सार्वजनिक डोमेनमा ल्याएर तटस्थ मिडियाको भूमिकाबाट पछि हटेको आरोप लगाए । उनले पत्रकारिताको धर्म बिर्सिंदा अहिले जनप्रतिनिनिधि र पत्रकारबीच द्वन्द्व बढेको बताए । उनले वीरगंज महानगरका सत्यतथ्य समस्या उजागर गरी केन्द्रसम्म पु¥याइदिन आग्रह गरे । उनले केही पत्रकारले व्यक्तिगत कुरालाई उठान गरी छवि बिगार्ने चेष्टा गरेकामा दुःख व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ताले निजी क्षेत्रको लागि सबै तहका सरकारले सोच्नुपर्ने बताए । उनले निजी क्षेत्रको बारेमा तीनै तहका सरकार उदासीन बन्दा उद्योगधन्धा अहिले मारमा परेको बताए ।
नेपाल पोस्ट मिडिया प्रालिका निर्देशक मनोज पटेलले रेडियो सीमाञ्चलले विशेषगरी शिक्षा, कृषि, स्वास्थ्य र महिला सशक्तीकरणलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, शाखा उपाध्यक्ष युवराज खड्का लगायतको सहभागिता थियो ।