हाम्रो मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था छ । यस व्यवस्थामा नागरिक सर्वेसर्वा हो । सत्ताको साँचो कुन दललाई सुम्पने, को ठीक, को बेठीक छुट्याउने र आवधिक चुनावमार्फत कारबाई वा पुरस्कृत गर्ने अधिकार बालिग नागरिकलाई छ । तर आफ्नो काम, कर्तव्य, अधिकार तथा शक्तिबारे नागरिक सचेत छैनन् । राणाकाल, पञ्चायतकाल र बहुदलीय शासन प्रणालीमा अभ्यस्त हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा, लामो यात्राको यात्री जस्तै भएका छन् । गन्तव्यमा पुगिसक्दा पनि यात्राको दङ्दङीले छाडेको छैन । पुरानो व्यवस्थामा शासकहरू सर्वेसर्वा हुन्थे, नागरिक उनीहरूको शरणमा पर्थे । तत्कालीन व्यवस्थाका भुरे, टाकुरेहरू पनि सर्वसाधारणको गाउँटोलमा आफूलाई शक्तिसम्पन्न देखाउँथे । तत्कालीन व्यवस्थाका साना नेता वा कार्यकर्ताले समेत आफूलाई मन नपरेका व्यक्तिविरुद्ध विभिन्न षड्यन्त्र गर्थे । व्यवस्था विरोधी, देशद्रोही, अराष्ट्रिय तŒव, आतङ्ककारी, समय अनुसार विभिन्न उपमा दिएर सताइन्थ्यो । मर्नुभन्दा बहुलाउन निको भनेझैं सताइनु, दुःख पाउनुभन्दा शरण पर्नै बेस ठानेर व्यवस्था पक्षधर कुनै न कुनै नेताको पछि लाग्न नागरिक बाध्य थिए । हो, त्यही लय अझै पनि नेपाली नागरिकको मनस्थितिबाट हटिसकेको छैन ।

लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिका र पार्टी कार्यकर्ताको मनोविज्ञान नितान्त फरक कुरा हुन् । नागरिक जनता जनार्दनको भूमिकामा रहेर राजनीतिका हरेक पक्षबारे जानकारी राख्दै लेखाजोखा गरिरहेका हुन्छन् । राजनीतिलाई पेशा बनाएका सीमित व्यक्ति राजनीतिक दलका कार्यकर्ताको रूपमा लागेका हुन्छन् । कुनै दल बिग्रँदा वा सपँ्रदा त्यस्ता पेशेवर कार्यकर्ताहरूको भविष्य सङ्कटमा पर्न सक्छ तर निष्पक्ष नागरिकलाई भने कुनै फरक पर्दैन । निष्पक्ष नागरिकले त बिग्रेको दलको विकल्पमा अर्को दललाई आवधिक चुनावमार्फत अगाडि सार्ने हो । हाम्रो मुलुकका नागरिक जनता जनार्दनको भूमिकामा थोरै छन् । यहाँ पार्टीका कार्यकर्ता, त्यहाँभन्दा तल झरेर हनुमान, झोले, दास र अन्धभक्तको भूमिकामा धेरै छन् । पार्टीप्रतिको निष्ठा र भक्तिभावले नागरिकको विवेक र सोच निष्पक्ष हुन सक्दैन । आफ्ना पार्टीका नेताहरूका गलती र कमजोरी पनि सही देख्न थाल्छन् र पार्टी बचाउने नाममा कुनै पनि असत्य तर्क गर्न पछि पर्दैनन् ।

जनता जनार्दन नै पार्टी कार्यकर्ताको भूमिकामा उत्रिएपछि यसले जनअपेक्षा र लोकतान्त्रिक सिद्धान्तहरू धूमिल पर्न जान्छ । पार्टीका नेता, कार्यकर्तालाई मुलुकको आवश्यकता अनुसार सही मार्गनिर्देश गर्ने, जिम्मेवार बनाउने काम निष्पक्ष नागरिक अर्थात् जनता जनार्दनको हो । यहाँ निष्पक्ष नागरिक नै नरहेपछि दल भड्खाँलोमा जाकिनु स्वाभाविक छ । लोकतन्त्रका हिमायती दलहरू गलत बाटोमा गयो भने व्यवस्थाप्रति वितृष्णा जाग्न सक्छ । यसले ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ भन्ने तथ्यलाई बिर्सिएर निरङ्कुशतातर्फ मोडिने खतरा हुन्छ । लोकतन्त्र प्राप्तिपछि निरङ्कुशताको भूमरीमा फसेका मुलुकहरू विश्वमा धेरै छन् । लोकतान्त्रिक विधिबाटै निरङ्कुश शासक जन्मेका उदाहरणहरू पनि छन् । निष्पक्ष नागरिक, न्यायमूर्ति अर्थात् जनता जनार्दनको भूमिकाभन्दा पनि पार्टी कार्यकर्ता, झोले, हनुमान र दासहरू धेरै जन्मेपछि कमिलाको पखेटा पलाएजस्तै लोकतान्त्रिक नेतृत्वमा पनि निरङ्कुशतामा परिणत हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here