प्रस, रौतहट, ८ कात्तिक/
सुनचाँदीका नक्कली गहना घरघरमा पुगेर बिक्री गर्ने ठगी कार्य रौतहटमा भइरहेको छ । रौतहट जिल्लाको सिमानासँग जोडिएको भारतीय बजार बैरगनियाबाट नक्कली सुनचाँदीका गहनाहरूलाई टाँचा लगाएर सक्कली सुनचाँदी भनी गौरलगायतका क्षेत्रमा बिक्री गरी ठगी कार्य भइरहेको एकजना सुनचाँदी व्यवसायीले बताए ।
नक्कली सुनचाँदी सक्कली भनेर ग्यारेन्टीका साथ बिक्री गर्ने कार्य भइरहेको छ । केही भारतीय व्यापारीहरूले भने नक्कली सुन भएपनि जलप हालिएको र पाँच वर्षसम्मको ग्यारेन्टी दिंदै कम दाममा बिक्री गर्दै आइरहेका छन् ।
सुनचाँदीका गहना भारतीय बजारबाट सस्तो मूल्यमा किनेर नेपालमा महँगो मूल्यमा बिक्री गरिए पनि यसमा स्थानीय प्रशासनले चासो देखाएको छैन । भारतीय व्यापारीहरूले नेपालमा पसल खोली अवैध कारोबार गरिरहेका छन् । उनीहरूबाट थुप्रै नेपाली उपभोक्ता ठगिंदै आएका छन् । सुनचाँदीको पसल थापेर बिक्री गर्दा विश्वास हुने भएकोले भारतीय व्यापारीहरूले गौरलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा पसल सञ्चालनमा ल्याएका छन् । नाम चलेका पसलहरूबाट सुनचाँदी खरीद गर्नुपर्नेमा कम मूल्यको लोभमा स्थानीय उपभोक्ताहरूले जथाभावी सुन खरीद गर्दै आएका कारण उनीहरू ठगिएका हुन् । कतिपय पसलहरू सुनचाँदी बिक्री गरेर बन्द पनि भएका छन् । सुन खरीद गर्नेहरूले हतपती फिर्ता नगर्ने कारणले अहिले यो व्यवसायमा वृद्धि भएको हो र ठगीका काम पनि शुरू भएको हो । सुनको मूल्य अहिले अचाक्ली बढेपछि फिर्ता गर्नेहरूलाई समस्या भएको छ । नयाँ पसलेहरूले सुन फिर्ता गर्नुपर्दा पसल बन्द गरेको बुझिन आएको छ । बिक्रीभन्दा फिर्ता गर्ने परम्परा अहिले बढेको छ । यसैको फाइदा उठाएर भारतीय नक्कली सुनको व्यापार गौरमा बढिरहेको छ । सुन तोलाको रु एक लाख ६० हजारभन्दा बढी पर्छ र चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
सामान्य मानिसको पहुँचभन्दा बढी मूल्य भइसक्दा अहिले वैवाहिक कार्यक्रमहरूमा सुनचाँदीको प्रयोग कम भइरहेको छ र प्रायः माानिसहरूले भारतबाट नक्कली सुन ल्याएर वैवाहिक कार्यक्रममा प्रयोग गर्दै आइरहेका छन् ।
सुनचाँदी पसल सञ्चालनको लागि व्यावसायिकरूपमा दर्ता गर्नुपर्ने र सङ्घमा आबद्ध हुनुपर्ने भएपनि आधाभन्दा बढी सुनचाँदी पसलहरू दर्ताविना सञ्चालनमा छन् ।
नेपालीको नाममा पसल दर्ता गरी केही भारतीयहरूले पसल सञ्चालन गरिरहेका छन् । उनीहरूले नेपाली नागरिकलाई माासिक तीनदेखि पाँच हजार खर्च दिएर उनीहरूको नाममा पसल सञ्चालन गर्ने र ठगी गरेर भाग्ने गरेको पाइएको छ । पसल दर्ता भएका व्यक्तिहरू यो घटनामा फसिरहेका छन् ।
भारतीय व्यापारीहरू गौरलगायतका क्षेत्रमा समूह बनाएर सुनका गरगहना बिक्री गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले विभिन्न पालिकाहरूमा तीन/चार जनाको समूह बनाएर महिलाहरू यो कार्यमा सक्रिय रहेको पुष्टि गरेको छ ।
गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टिलगायतका स्थानमा भारतीय महिलाहरूले विभिन्न प्रलोभन देखाइ नक्कली सुनचाँदीका गहना बिक्री गर्ने गरेको सो कार्यालयले जनाएको छ ।
पायल किन्दा राइस कुकर उपहार दिने, चाँदीको बिच्छी किन्दा अर्को सित्तैमा दिने, सुनको मङ्गलसूत्र, टीका अन्य गहना किन्दा थप एउटा गहना दिने र नगद पाँच हजार छुट दिने भन्दै प्रलोभन देखाएर नेपालीहरूलाई ठग्दै आएको जिप्रका, रौतहटले जनाएको छ । यस प्रकारका गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीलाई खबर गर्न जिप्रका, रौतहटले आह्वान गरेको छ ।