शक्तिको दुरुपयोग गरेर व्यक्तिगत लाभको लागि गरिने क्रियाकलाप भ्रष्टाचार हो । कुन हद पार गरे भ्रष्टाचार ठहर हुन्छ भन्ने कुरा सामान्यतया सम्बन्धित मुलुकको कानूनी मापदण्ड र व्यक्ति तथा समाजको नैतिक परिधि अनुसार हुन्छ । जहाँ कानूनी र नैतिक सीमा तथा लक्ष्मणरेखा उल्लङ्घन हुन्छ, त्यही भ्रष्टाचार हो । हुनत विद्वान्हरूले भ्रष्टाचारको मान्यतालाई विश्वव्यापी एउटै बनाउन विभिन्न परिभाषा दिएका छन् । त्यसैगरी, विभिन्न सन्धि, महासन्धिहरू भएका छन् । भ्रष्टाचारविरुद्ध ‘संयुक्त राष्ट्र महासन्धि’ (ग्ल्ऋब्ऋ)– सन् २००३, इभ्ऋम् महासन्धि–१९९७, यियुका सन्धि, अफ्रिकी सन्धिलगायत छन् । यसैगरी, विभिन्न मुलुकबीच द्विपक्षीय तथा क्षेत्रीय सन्धि, सम्झौताहरू पनि भएका छन् । यसले भ्रष्टाचारको मानक तयार गर्ने, अध्ययन–अनुसन्धान गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि रचनात्मक अभियानका साथै कानूनी दायराहरू तयार गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
सम्बन्धित मुलुकको शासन व्यवस्था, सामाजिक परिवेश, धार्मिक मान्यताहरूले पनि भ्रष्टाचारको परिभाषा र कारबाई एवं दण्ड जरिवानाको दायरा फरक पर्ने गरेको पाइन्छ । उदाहरणका लागि हाम्रा दुई छिमेकीहरूमा यसको मानक फरक छ । उत्तरी छिमेकी चीनले भ्रष्टाचारजन्य कसूरलाई जघन्य अपराध मान्छ । उसले आफ्नो मुलुक, पार्टी नीति र सिद्धान्तप्रति गद्दारी गरेकामा गम्भीर अपराध गरेको ठहर गरिन्छ । त्यसैले त्यहाँ भ्रष्टाचारीलाई मृत्युदण्ड दिनेसम्मको कानून छ । तर दक्षिणी छिमेकी भारतमा भ्रष्टाचारको अपराधलाई सुधार्न सकिने अपराधको रूपमा लिइन्छ । हाम्रो मुलुकमा त अझ त्यति पनि छैन । यहाँ जसले ठूलो भ्रष्टाचार ग¥यो, उसैको रजगज चल्छ । भ्रष्टाचारीलाई बहिष्कार वा तिरस्कार गर्नेभन्दा पनि उसको अगाडि नतमस्तक भइदिने समाज छ । भ्रष्टाचारका प्रकार धेरै छन् । भ्रष्टाचार भइरहेको छ कि छैन भन्ने कुरा सतही हेराइ वा बुझाइले ठम्याउन सकिंदैन । आर्थिक भ्रष्टाचार, प्रशासनिक भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, न्यायिक भ्रष्टाचार, संरचनागत/संस्थागत भ्रष्टाचार, सामाजिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचारलगायत छन् । आर्थिक भ्रष्टाचारका घटनाहरू केही बाहिर आए पनि अन्य भ्रष्टाचारका कुराहरू सर्वसाधारणलाई थाहा हुँदैन र बाहिर पनि आउँदैन । परिणामस्वरूप यस किसिमका भ्रष्टाचारको प्रभावले भित्रभित्रै समाजमा गहिरो नकारात्मक असर पार्छ । यसले विकासको गतिमा अवरोध गर्नुका साथै न्याय र समानता एवं कानूनी राज्यको मर्ममा ठेस पु¥याउँछ ।
हाम्रो मुलुकमा यी सबै किसिमका भ्रष्टाचार व्याप्त छन् । विश्वका सबैभन्दा भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गत जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार भ्रष्ट मुलुकको १०८औं स्थानमा नेपाल छ । अतः भ्रष्टाचार गर्नुमा विश्वका १०७ वटा मुलुकलाई नेपालले टपेको छ । तथ्याङ्क हेर्दा यहाँ पाइलापाइलामा भ्रष्टाचार व्याप्त छ भन्न सकिन्छ । तर कारबाईको अनुपात खै त ? दिनहुँ ८–१० जना भ्रष्टाचारी समातिनुपर्ने हो । यहाँ भ्रष्टाचारीको समर्थनमा राजनीतिक दल र नागरिक समाज छ । ‘आफ्नालाई जोगाउँ, अरूलाई ठोकौं’ भन्ने भ्रष्ट मानसिकता समाज र दलमा छ । पक्षपात गर्नेहरू पनि भ्रष्टाचारी हुन् । जबसम्म भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुँदैन, तबसम्म मुलुकमा सदाचारको कल्पना व्यर्थ छ ।