प्रस, वीरगंज, ७ कात्तिक/
नारायणी अस्पताल वीरगंज, प्रादेशिक अस्पताल कलैया र जिल्ला अस्पताल पोखरियामा औषधि अभाव भएको छ ।
स्वास्थ्य बीमा गराएका बिरामीहरूले नारायणी अस्पतालमा एक महीनादेखि औषधि पाउन सकेका छैनन् भने प्रादेशिक अस्पताल कलैयामा दुई सातादेखि औषधि अभाव भएको छ । यसैगरी, पोखरियामा पनि गत साउनदेखि औषधि खरीद नभएको कारण सरकारले दिने औषधि उपलब्ध हुन सकेको छैन ।
सरकारले सयभन्दा बढी थरीका औषधि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालबाटै उपलब्ध गराउँदै आएकामा नारायणी अस्पतालमा चालू आवमा औषधिको ठेक्का लाग्न नसकेकोले अहिले औषधि अभाव भएको हो । चार महीना अवधिमा तीनजना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएकाले अस्पतालका सेवाहरू प्रभावित हुँदै आएका छन् ।
नयाँ मेसुमा डा चुमनलाल दास गत असोज १८ गते हाजिर भए । त्यस अघि अस्पतालको कावा मेसु डा ऐनामुल हक थिए । डा हकले औषधिलगायतका सेवाहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसक्दा अस्पतालमा बेथिति बढेको थियो । अस्पतालका तत्कालीन मेसु डा चितरञ्जन झापछि डा हक कावा मेसु भएका थिए । उनी आएपछि एकैपटक अस्पतालका ४७ जनालाई सेवाबाट हटाएपछि अस्पतालको अवस्था अस्तव्यस्त भएको थियो । सोही बखतदेखि अस्पतालको फार्मेसी सेवा बन्द भयो भने ५६ वटा शøया पनि बन्द भएको थियो । जनशक्ति अभावमा ती सेवाहरू बन्द भएका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले डा हकका बखत अस्पतालका धेरै सेवा प्रभावित भएको र अहिले बिस्तारै सुधारोन्मुख भएको बताएका छन् । उनले ५६ शøयामध्ये ५४ शøया सञ्चालनमा आएको, प्रयोगशालाको अवस्थामा सुधार ल्याइएको र औषधि व्यवस्थापनको लागि सप्लायर्सहरूलाई निर्देशन दिएको बताए ।
स्वास्थ्य बीमालगायत औषधिहरू सेवाग्राहीहरूलाई उपलब्ध गराउन नयाँ मेसु आएपछि प्रक्रिया शुरू भएको अध्यक्ष्F गुप्ताले जानकारी गराएका छन् ।
प्रस, कलैया/
प्रादेशिक अस्पताल कलैयामा पनि अहिले औषधि अभाव भएको छ । नयाँ आएका मेसु डा सुनील कुशवाहा र लेखापाल रामबालक यादवबीचको मनमुटावका कारण औषधिको ठेक्का नलागेपछि स्वास्थ्य बीमा र फार्मेसीबाट उपलब्ध गराउने औषधिहरूमा कमी आएको छ ।
दुई सातामा ९० प्रतिशत औषधि अभाव भएको र अहिले स्वास्थ्य बीमा तथा फार्मेसीबाट सेवाग्राहीहरूले १० प्रतिशत औषधि मात्र पाइरहेका छन् । कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा गराएका बिरामीहरूले दैनिक डेढ लाखसम्मको औषधि लिंदै आएका थिए भने फार्मेसीबाट नगदमा दैनिक एक लाखसम्मको बिक्री हुने गरेको बताइन्छ ।
सप्लायर्सहरूबाट औषधि खरीद गर्दा २० प्रतिशत कमिशन प्राप्त हुने र सोही कमिशनको विषयलाई लिएर मेसु र लेखापालबीच विवाद भएको अस्पताल स्रोतले जनाएको छ । दुवैबीचको विवादका कारण औषधि खरीद प्रक्रिया अगाडि बढ्न सकेको छैन र सेवाग्राहीहरूले औषधि पाएका छैनन् ।
७० जना कर्मचारीले तलब पाएनन्
प्रादेशिक अस्पताल कलैयामा कार्यरत ७० जना कर्मचारीले दशैंमा तलब पाएनन् । उनीहरूको तलब सात महीनादेखि बाँकी छ । अस्पताल विकास समितिका २५ जना, निक साइन्स अमेरिकी संस्थाका पाँचजना र दैनिक ज्यालादारीका ४० जना गरी ७० जनाले दशैंमा तलब पाएनन् । मेसु र लेखापालबीचको मनमुटावले उनीहरूले तलब नपाएको बताइन्छ । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईंले भने कमिशनको कारण तलब वितरण नगरिएको सार्वजनिकरूपमा आरोप लगाउँदै आएका छन् ।
दशैंमा तलब नपाएका ७० जना कर्मचारीले तिहार र छठ नजीकै आइसक्दा पनि तलब पाएका छैनन् र तलबको लागि उनीहरू आन्दोलनको तयारीमा रहेको बताइन्छ ।
प्रस, पोखरिया/
पोखरिया जिल्ला अस्पतालमा पनि औषधि अभाव कायमै छ । स्वास्थ्य बीमाका बिरामीहरूको लागि औषधिको कुनै व्यवस्था गरिएको छैन । अस्पतालले सरकारबाट पाउने सय बढी थरीका औषधिमध्ये पनि अहिले धेरै कमी रहेको निमित्त मेसु डा अनिल यादवले बताए । उनले स्वास्थ्य बीमाका लागि दैनिक २५ जना आउने गरेकामा औषधि अभाव भएपछि बिरामीको सङ्ख्या घटेको बताए । पोखरिया अस्पतालमा पनि औषधिको ठेक्का नलाग्दा अहिले समस्या भएको हो । नगरपालिकाले औषधिका लागि विनियोजन गरेको रकमबाट अस्पताललाई उपलब्ध गराउनुपर्ने औषधि खरीद गरेर नपठाएको कारण त्यहाँ औषधि अभाव भएको हो ।