प्रस, वीरगंज, ७ कात्तिक/
वीरगंज महानगर–३ प्रगतिनगर निवासी वीरेन्द्र साह सोनारको हत्या सम्बन्धमा बारा प्रहरीले पर्सा प्रहरीको सहयोगमा बुधवार मुख्य अभियुक्त विजयप्रसाद कलवारलाई पक्राउ गरेको छ ।
बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पर्सा प्रहरीको सहयोगमा बुधवार बिहान इनर्वाबाट कलवारलाई पक्राउ गरिएको बताए । कलवार भारत, रक्सौल घर भई हाल बहुदरमाई नगरपालिकामा बस्दै आएका छन् । वीरेन्द्र साह सोनारको हत्या सम्बन्धमा कलवार मुख्य आरोपी भएको बारा प्रहरीको दाबी छ ।
कलवार सोनारको घरमा तीन वर्षदेखि डेरामा बस्दै आएका थिए । मार्बल, टायलको काम गर्ने कलवार र सोनारकी पत्नीबीच प्रेमसम्बन्ध स्थापित भएको र सोही क्रममा पत्नी मनीषा र कलवार मिलेर सोनारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोनारको शव कात्तिक १ गते बारा जिल्ला, प्रसौनी गाउँपालिका–३ त्रिवेणी पुलनजीकै गण्डक नहर किनारमा फेला परेको थियो । सोनार विजयसँगै असोज २७ गते दिउँसो बाराको मुसहर्वामा मेला हेर्न गएका र त्यसपछि फर्केका थिएनन् । विजय भने राति नै घर फर्केका थिए ।
मृतक सोनारकी पत्नी मनीषा सोनारलाई बारा प्रहरीले यस अघि नै पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यस घटनामा अझै एकजना अभियुक्त फरार रहेको बारा प्रहरीले जनाएको छ ।